एसपी विष्टका छोराको प्रधानमन्त्री ओलीलाई बिन्ती पत्र

Nirmala Panta
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको आरोप लागेका किरणराज विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिन्ती पत्र लेखेका छन् ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणराज विष्टले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफुलाई निर्मलाको हत्यामा संलग्न रहेको अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्न लागेको भन्दै न्यायका लागि प्रधानमन्त्री ओलीलाई पत्र लेखेका हुन् ।

पत्रमार्फत् उनले आफू निर्दोष रहेको दावी गरेका छन् । निर्मला पन्तको गत साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो ।

तर, कञ्चनपुर प्रहरीले उक्त घटनाको छानविनमा लापर्वाही गरेको थियो । घटनाको छानविनका लागि सरकारले उच्चस्तरिय छानविन समिति गठन गरेपनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

छानविनमा लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई सरकारले निलम्बन गरेको छ । विष्टले ओलीलाई लेखेको पत्र भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीलाई बिन्ती पत्र लेखेका विष्ट कहाँ छन् ? त्यो बारे केही खुलेको छैन । निर्मला पन्तका आफन्तले भने किरण विष्ट नै मूख्य दोषी भएको बताउँदै आएका छन् । उनी अहिले पनि फरार रहेका छन् ।

पन्तको हत्यामा एसपी विष्ट, उनका छोरा किरण र बम दिदीबहिनीको संलग्नता रहेको स्थानीयको दावी छ । सरकारले छानविनका लागि उच्चस्तरीय समिति बनाए पनि हालसम्म चित्तबुझ्दो प्रमाण जुट्न सकेको छैन ।