घुम्नैपर्ने विश्वका पाँचौं शहरको सूचिमा काठमाडौं

Kathmandu-Valley
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको छ ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ का लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर परेको छ भने नेपालको राजधानी काठमाडौं पाँचौं स्थानमा परेको परेको हो । काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको छ ।

ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ । लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट सहरको सूचीमा काठमाडौं पर्नुलाई पर्यटन क्षेत्रले ठूलो उपलब्धि मानेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले यसबाट नेपालमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा काठमाडौंमात्र नभई समग्र नेपालको छवि थप आकासिएको छ । नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको यो सूचीले बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ ।

संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यो सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने व्यवसायीको भनाइ छ ।

“तीन वर्षअघि सन् २०१५ मा विनाशकारी भूकम्पपछि काठमाडौं भग्नावशेष भएको र शोकमा रहेका समाचार बाहिरिएका थिए, तर आज ती सबैमा कायाकल्प भएको छ किनभने पुनर्निर्माण चलिरहेको छ,” लोन्ली प्लानेटले आफ्नो सूचीमा लेखेको छ, “भूकम्पमा लगभग भत्किसकेका विश्वसम्पदा स्थल पुनःनिर्माणबाट ब्युँतिएका छन् र ऐतिहासिक स्थल पुरानै विशेषता र महिमा प्राप्त गर्न सफल भएका छन् । त्यसबाहेक बदनाम ट्राफिक जाम, धुवाँधुलो र ध्वनि प्रदूषणले काठमाडौंलाई दशकौं अघिको भन्दा थप जीवन्त बनाएको छ ।”

लोन्ली प्लानेटको उत्कृष्ट सहर सूचीको दोस्रो स्थानमा चीनको सेन्झेन, तेस्रो सर्बियाको नोभी स्याड, चौथो अमेरिकाको माएमी, छैठौं मेक्सिकोको मेक्सिको सिटी, सातौं सेनेगलको डकार, आठौं अमेरिकाको सियाटल, नवौं क्रोएसियाको जाडर र दसौं स्थानमा मोरक्कोको मेकेन्स परेका छन् ।

लोन्ली प्लानेटले यसअघि २०७३ चैतमा पनि ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । “भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्ग लगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता छ,” लोन्ली प्लानेटले त्यसबेला लेखेको थियो, “अहिले नेपाललाई आम्दानीको खाँचो छ । त्यसकारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट एउटा राष्ट्र पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।”

बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको थियो ।

‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ त्यसबेलाको बेस्ट भ्यालु सूचीमा थियो, ‘नेपालमा विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’ बाह्रखरी