दैनिक ३ अर्ब ८८ करोड ब्यापार घाटा, कसरी आउँछ समृद्धि ?

Byapar-Ghata_Inner
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ ।

चालू आर्थिक वर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापार घाटा बेहोर्नु परेको छ । जबकि यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु नेपाल भित्रिएको हो । यो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँको मात्र स्वदेशी वस्तु बाहिरिएको छ ।

आयात निर्यातको अनुपातमा तालमेल हुन नसक्दा हरेक दिन देशले झण्डै ४ अर्बको ब्यापार घाटा बेहोर्ने गरेको छ । तीन महिनाको औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार देशले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । यो क्रम हरेक बर्ष बढ्दै गएको छ ।

आधाभन्दा बढी घाटा त छिमेकी देश भारतसँग मात्रै हुने गरेको छ । यो तीन महिनामा पनि ६३.२ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ । चीन, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, साउदी अरबलगायतका देशसँग नेपालको व्यापार घाटामा छ ।

असोज महिनामा ४० अर्ब २९ करोड राजश्व संकलन, सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट उठ्यो । बढी राजश्वमुखी भएको आरोप लाग्दै आएको बर्तमान सरकारले तीन महिनामै १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

असोज एक महिनामा मात्रै ४० अर्ब २९ करोड रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । सरकारले यो महिनामा लक्ष्यको १३७।२४ प्रतिशत राजस्व संकलन गरेको हो । यो भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्त शुल्क र पुर्वाधार करसमेतको रकम हो ।

असोज महिनामा ५७ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि रसुवा भन्सार विभागले ४ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अवधिमा यस कार्यालयबाट २ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागका निर्देशक विनोद शरण आचार्यले जनाए ।

वीरगंज भन्सार कार्यालयले एक महिनामा १६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको १३५.८१ प्रतिशत हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्