पर्वतमा धान उत्पादन दश प्रतिशत बढ्ने

dhan bot
लाेकपाटी न्यूज
0 Shares

पर्वत, ९ कात्तिक । यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो ।

जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन् । जिल्लामा स्थानीय छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धानखेती हुँदै आएको छ ।

गत वर्ष १० प्रतिशतले उत्पादन बढेको धान यस वर्ष पनि अनुकूल मौसमका कारण १० प्रतिशतले नै वृद्धि हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष समयमै रोपाइँ गर्न पाइएको र अनुकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो । धानखेती राम्रो भएकाले कृषकहरू उत्साहित छन् ।

धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाइँ र पछिल्लो समयसम्म निरन्तर परेको वर्षाका कारण उत्पादन बढ्ने देखिएको उक्त केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । ‘थन्क्याउने बेलासम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ’ उनले भने ।

जिल्लामा रहेको करीब २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने उक्त केन्द्रले जनाएको छ । पर्वतका अधिकांश जमीनमा अहिले पनि आकाशे पानीको भर पर्नुपरेकाले केहीले खेतबारी बाँझै राख्ने गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्