‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले अपराध नियन्त्रण’

police public
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, कात्तिक । शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम महत्वपूर्ण हुने बताइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा सामाजिक दायित्व’ विषयको कार्यक्रमका वक्ताले समुदायका व्यक्ति र प्रहरी मिलेमात्र समाजमा हुने अपराध न्यूनीकरण गर्न सकिने बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापा क्षेत्रीले समाजमा हुने अपराध हटाउन सकेमात्र मुलुक विकासको बाटोमा लम्कन सक्ने बताए । “समाजमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक छ,” उनले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले सहयोग पुग्ने बताए । “प्रहरीको एक्लो प्रयासले समाजमा हुने अपराधलाई नियन्त्रण गर्न सक्दैन, यसका लागि आम जनसमुदायको सहयोग आवश्यक छ,” उनले भने ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अपराध गर्ने व्यक्तिलाई संरक्षण गर्ने परिपाटीका कारण समाजमा अपराध बढको छ भन्दै यसलाई नियन्त्रण गर्न व्यक्ति स्वयं सच्चिन जरुरी रहेको बताए ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले हरेक विद्यालय र पाठ्यक्रममा समुदाय र प्रहरीसम्बन्धी कार्यक्रम लग्नुपर्ने बताए ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख गौतमकुमार केसी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ, समाजसेवी शङ्कर लोहारलगायतले समुदाय र प्रहरीबीच हातेमालो नभएसम्म समाजमा हुने अपराध नरोकिने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्