सर्वेन्द्रका दस एक्शन : यसरी ढलेका थिए कुमार घैंटे

IGP-sarbendra-khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विभिन्न ठूला अपराधिक घटनाको पर्दाफास गरे । विशेषगरी उनले गुण्डा नाइकेहरुलाई तह लगाए । जसको उदाहरण हो- कुमार घैंटेका इन्काउन्टर । त्यस्तै उनले फुटबलमा भइरहेको म्याच फिक्सिङको घटनालाई पनि उजागर गरे ।

निडर र निर्भिक प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा भएका दस प्रमुख एक्सनबारे हामी चर्चा गर्नेछौं ।

१. कुमार श्रेष्ठ ‘घैंटे’को इन्काउन्टर : राजधानीमा गुण्डा नाइकेहरुको राज उत्कर्षमा पुगेको बेला ३ भदौ २०७२ मा गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरमा मृत्यु भयो । सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागेपनि सामाजिक सञ्जाल र मिडियामार्फत इन्काउन्टर अनुमोदन भएपछि काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल अझ लोकप्रिय भए ।

२. फुटबलमा भइरहेको म्याच फिक्सिङको पर्दाफास : अन्तर्राष्ट्रिमा खेल खेलिरहने तर सधैं हारिरहने नेपाली फुटबल रोगको शल्यक्रिया पनि सर्वेन्द्रले गरे । सन् २००८ देखि सधैं हारिमात्र रहने रोग म्याच फिक्सिङ हो भन्ने प्रमाण पेश गर्दै उनले फुटबलका तत्कालीन कप्तान सागर थापासहित ५ जना खेलाडी तथा खेल व्यवस्थापकलाई २०७२ असोज २७ मा पक्राउ गरे । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको कबुल समेत गरे ।

३. रावणजीतमाथि गोली प्रहार : काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख भएका बेला उनले २०७२ असार १८ मा रावणजीत तामाङलाई सुन्धारामा गोली हाने । लागूऔषध ओसार–पसार र अपहरण काण्डमा सिन्धुपलानचोक जिल्ला अदालतले १० वर्ष कैद तोकेका रावणजीत फरार अभियुक्त थिए । सुन्धारामा रहेको तत्कालीन बेबिलोन डिस्कोमा १०–११ जना हुल्याहा साथीहरुसँग बसेर रमाइलो गरिरहेका बेला रावणजीतलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको घेरा तोड्न रणजीत तर्फबाट हतियार चलाएपछि प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको थियो ।

४. पेट्रोल पम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास : काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख भएका बेला नै हो उनले १६ पेट्रोल पम्पमा एकै पटक छापा मारेको । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेका बेला पेट्रोल पम्पहरुले चिप्स् जोडेर रिमोटमार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानबाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसबेला चर्चाको शिखरमा पुगेको थियो ।

५. कन्सलटेन्सीमा छापा : शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अवैध निस्किए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर, छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले वैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंका लागि बन्द भए ।

६. हुण्डीमा छापा : यसबेला पनि उनी काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख नै थिए । २०७२ असोजको यो घटनाले पनि चर्चाको शिखर छायो । राज्यलाई कर तिर्ने डरले अवैध पैसाको चलखेल गर्नेहरुको जालो बनेको हुण्डीमा उनकै नेतृत्वमा रेड हानियो । ट्याक्स एभोइड गर्ने, राज्यलाई ठग्नेहरुका विरुद्धमा गरेको यो कदम प्रसंशनीय मानियो ।

७. तराईका सशस्त्र भूमिगत समूहको सफाया : उनले जनकपुर र नारायणीमा रहँदा गरेको मूख्य काम नै भूमिगत समूहको सफाया अभियान थियो । १ सय ९ वटा शसस्त्र भूमिगत समूहले तराईलाई नराम्रोसँग दुःख दिइरहेका थिए । उनको सक्रियता र अभियानले त्यसलाई ४ वटामा झारिदिएको थियो । यसका लागि उनी आफैं फिल्डमा खटिएका थिए ।

८. तराईका सशस्त्र गिरोहका तीन नाइकेलाई जेल : दोस्रो संविधानसभा हुन नदिने भन्दै पर्चा–पम्प्लेट टाँसेर सक्रिय रहेका बेला गोहित समूहका अमिताभ गोहित र राजन मुक्तिका प्रमुखलाई पक्राउ गरी जेलको हावा खुवाउन उनी सफल भएका थिए ।

९. सीमाको डन जैसवालमाथि गोली प्रहार : नारायणी अञ्चलमा रहँदा उनले वीरगञ्जमा अपराध मच्चाइरहेको सुनिल जैसवाल ‘अग्नी’ भन्ने गुण्डा नाइकेलाई खत्तम गरे । जैसवाल खाने बस्ने भारतमै गर्थे भने अपराध भने नेपालबाट गर्थे ।
जैसवाललाई गोली हान्न सक्नुलाई समेत ठूलो आँट मानिएको थियो त्यतिबेला ।

१०. धनुषाको उत्तेजना वातावरण सामसुम पारे : एकजना असईले एकजोडी केटा–केटीलाई छुट्याएर केटीलाई बलात्कार गरेको आरोपमा जनकपुरको माहोल नियन्त्रण बाहिर गएको थियो । सिडिओ र डिएसपी जिल्ला छोडेर भागिसकेका थिए । पत्रकारमाथि आक्रमण भएको थियो । स्थानीय राजनीतिक पार्टीहरु भीडलाई उत्तेजित पार्नमा मस्त थिए । यस्तो अवस्थालाई काबुमा ल्याउन सर्वेन्द्रले गर्न सक्ने कुरा उठ्यो र तत्कालीन गृहमन्त्रीले काठमाडौंमा रहेका उनलाई तत्काल धनुषा पठाए । उनी धनुषा ओर्लिँदा पेट्रोल बमले स्वागत गरियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएका दिन धनुषा पुगेका उनी २४ घण्टाभित्र घटना सामसुम पारेर काठमाडौं फर्के । यस घटनाले उनको उचाईलाई राजनीतिक वृत्तमा समेत स्थापित गरेको थियो ।