राष्ट्रिय परिचयपत्रको छपाई शुरु

National Id card
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाई शुरु गरेको छ ।

गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाईको शुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र विवरण गर्नका लागि केन्द्रले छपाई शुरुआत गरेको हो ।

सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए ।

केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ तर अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा छाप्ने र पछि अन्यको पनि छाप्ने उनले बताए ।

सबै परिचयपत्र छापेर यही महिनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र विवरणसमेत गरिने छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले मेशिन उपलब्ध गराएपछि परिचयपत्रको छपाई गरेको बताए ।

उनका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुने छ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा आमा, बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्