सरकारी स्कूलमा पढ्नै मान्दैनन् विद्यार्थी

लाेकपाटी न्यूज

पाल्पा, २९ कात्तिक । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन ।

उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दै आएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् । सफा र सुन्दर विद्यालयको विशेषता नै हो । तर, त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ ।

उक्त विद्यालयकोे भौतिक संरचना लोभलाग्दा भए पनि र शिक्षकहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि विद्यार्थी बढाउन उनीहरुलाई हम्मेहम्मे भयो । कक्षा ५ सम्म १५ बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले कक्षा १ मा दुई, कक्षा २ मा चार, कक्षा ३ मा दुई, कक्षा ४ मा दुई, कक्षा ५ मा पाँच विद्यार्थी अध्ययनरत छन् । बाल कक्षामा भने आठ बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक धुव्र अधिकारी बताउँछन् । विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश दलित बस्ती छ । कक्षा १ देखि ५ कक्षासम्मको उक्त विद्यालयमा एक जुनुमाया बुढामगर मात्रै गैरदलित विद्यार्थी छिन् ।

सेवा र सुविधाको खोजीमा अधिकांश मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कमी हुँदै गएको हो । कक्षाकोठा, बेञ्च र पुस्तकालय निकै आकर्षित छन् । प्रअ अधिकारीे भन्छन्, “घर बिर्सेर विद्यालय बनाइयो, अहिले विद्यार्थी सङ्ख्या न्यून भयो ।” विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदा शिक्षक तथा अभिभावक चिन्तित छन् ।

उक्त गाउँपालिकाको प्राय सबै आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानाका साथै कहिलेकाहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यतासमेत छ ।

विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा लाग्ने प्रअ अधिकारीको भनाइ छ । विद्यालयका शिक्षक खगेश्वर नेपालका अनुसार कम विद्यार्थी सङ्ख्यामा पठनपाठन गर्दा गृहकार्य गर्न सहज हुने भए पनि छड्के जाँच गर्न सहज हुँदैन ।

वि.सं. २०४४ मा स्थापना भएको उक्त विद्यालयमा २०६१ सालमा कक्षा १ मा ९५ विद्यार्थी पुगेको शिक्षिका बिमला गौतम बताउँछिन् । पन्ध्र विद्यार्थी पढाउनका उक्त विद्यालयमा लागि तीन शिक्षकको दरबन्दी छ । जसमा एक राहत र एक बालशिक्षक पनि छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्