विराटनगरले भित्र्यायो तीन विदेशी खेलाडी

Cricket
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । यही मंसिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारिवर्सले तीन विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा भित्र्याएको छ ।

अघिल्लो संस्करणको विजेता रहेको विराटनगरले प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियमानुसार नेदरल्याण्डस्का दुई र हङकङका एक खेलाडी क्लबमा अनुबन्ध गरेको जनाएको छ ।

विराटनगरले नेदरल्याण्डस्का पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी र भारतका स्मित पटेललाई क्लबमा अनुबन्ध गरेको हो । प्रशिक्षकमा भारतका उमेस पटवाललाई नियुक्त गरेको छ ।

पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक हुन् । यही मंसिर २२ देखि पुस ७ गतेसम्म हुने इपीएललाई यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।

इपिएलमा नेपालको विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय भएको थियो ।

इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।