पाकेटमार अपरेशन : ७७ जना पक्राउ

nepal-police
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ४ पुस । सार्वजनिक सवारी साधनहरुमा पाकेटमारको बिगबिगी बढेको सूचना पाएपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान शुरु गरेको छ ।

बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । सार्वजनिक यातायातमा हुने पाकेटमारी र चोरी नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी परिचालन गराइएको थियो ।

प्रहरीको पाकेटमार विशेष अपरेशनको क्रममा सार्वजनिक साधनमा यात्रा गरिरहेका यात्रुको झोला तथा गोजीमा रहेका नगद, मोबाइल तथा गरगहनालगायत चोरी गर्दागर्दै ७७ जनालाई समातिएको छ ।

प्रहरी स्रोतका अनुसार १५ मंसिरदेखि राजधानीमा हुने गरेका लुटपाट तथा चोरीका घटनामा संलग्न ७७ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै प्रहरीले पहिलोपटक पाकेट मार्नेलाई एक महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पाकेट मारेको पाइएमा दुई महिना जेल र सोही बराबर बिगो कारबाही हुने बताएको छ ।

अनुसन्धानको क्रममा उनीहरु २/२ जनाको दरले ६ देखि ८ जनासम्मको समूह बनाएर विशेषगरी बस तथा माइक्रोमा छिर्ने गर्छन् । त्यसपछि उनीहरुले गाडीभित्रै अनावश्यक भिड सिर्जना गरेर पैसा भएको स्थान पत्ता लगाएर पाकेट मार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सार्वजनिक यातायातमा पाकेट मार्नेहरुको कोड भाषा हुने गरेको प्रहरी जनाएको छ ।

उनीहरुले पैसा बढी भएको स्थान र कम भएको स्थानलाई बेग्लाबेग्लै साङ्केतिक भाषा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । पैसा धेरै भएको अवस्थालाई ‘द टान’ भन्दा कम भएको अवस्थालाई ‘जुटेको द’ भन्छन् । उनीहरुले मोबाइललाई ‘कान’, निशाना लगाएको मानिसलाई ‘रामे’, गाडीलाई ‘काँचा’ भन्ने गर्छन् । त्यस्तै उनीहरुले प्रहरीलाई ‘ठूल्दाइ’ र ड्राइभरलाई ‘माम’ तथा गाडीबाट भाग्नुपर्ने अवस्थालाई ‘टप्की’ भनेर सम्बोधन गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले चलाएको पाकेटमार नियन्त्रण अपरेशनका क्रममा रु. १ लाख ६० हजार तथा ३९ थान मोबाइल बरामद भएको छ । त्यस्तै उनीहरुको साथबाट ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल तथा चक्कुलगायतका सामान बरामद गरिएको छ ।

प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको रकम र सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।