‘नेपाल–अमेरिका सम्बन्ध’ : मन्त्री प्रदीप ज्ञवाली

pradip kumar gayali
लाेकपाटी न्यूज
0 Shares

निकै लामो अन्तरालका नेपाल र अमेरिकाबीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध स्थापित गरेको देश अमेरिका हो ।

हाम्रा सम्बन्धहरु औपचारिक, राजनीतिकदेखि लिएर आर्थिक, सामाजिक, सांस्कृतिक र जनस्तरमा समेत फैलिँदै गएका छन् । अमेरिकामा निकै ठूलो नेपाली डायस्पोरा छ । नेपालको शिक्षाको क्षेत्रमा पिसकोर अमेरिकी भोलेन्टियरहरुले निकै ठूलो सक्रियता पनि देखाइरहेका छन् । यी सबै परिप्रेक्ष्यमा हेर्दा मित्रतालाई थप सुदृढ गर्ने हिसाबले मैले अमेरिका भ्रमण निकै फलदायी रहेको महशुस गरेको छु ।

नेपालका निम्ति कुन खास प्रोजेक्टमा कति सहयोग प्राप्त भयो भन्ने हिसाबले हामीले सम्बन्धलाई मापन गर्ने होइन । हामीले मापन गर्ने भनेको नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कति फराकिलो भयो, नेपालप्रति हाम्रा मित्रहरुको रुचि, आकर्षण कति बढ्यो, र नेपालको विकासमा कति साथ सहयोग र समर्थन प्राप्त भयो, त्यस हिसाबले हामीले हाम्रा सम्बन्धहरुलाई मापन गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यस दृष्टिमा हेर्दाखेरि सम्बन्धलाई अझ प्रगाढ बनाउन, अझ सुदृढ बनाउन र अझ फराकिलो बनाउनको निम्ति मैले लामो समयको अन्तरालपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले गरेको यो औपचारिक भ्रमण फलदायी रहेको मैले महशुस गरेको छु ।

निश्चय नै उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानको दृष्टिले लामो एउटा ग्याप देखिन्छ । सक्रिय राजतन्त्र रहेका बेला राजाहरुको औपचारिक भ्रमण भएको देखिन्छ । पछि नेपालका प्रधानमन्त्रीज्यूहरुले संयुक्त राष्ट्र संघको महासभामा आउँदा या अरु सन्दर्भमा भेटघाट गर्नुभएको देखिए पनि औपचारिकरुपमा संरचनागत हिसाबले चाहिँ भेटवार्ताहरु तुलनात्मक रुपमा पातलो नै भएका छन् ।

यसका निम्ति हामीले आफ्नै तर्फबाट हेर्दा र नीतिहरुको पुनरावलोकन र समीक्षा गर्दाखेरि ०४६ सालमा बहुदलीय व्यवस्था स्थापनालगत्तै त्यसको केही समयपछि नै नेपाल राजनीतिक अस्थिरतामा फस्न पुग्यो । संसद विघटन हुने, सरकारहरु फेरिइरहने र पछिल्लो समय त सशस्त्र द्वन्द्व र लामो संक्रमणकालमा हामी फस्यौं । यसका प्रभावहरु हाम्रा वाह्य सम्बन्धहरुमा पनि परेको देखिन्छ । किनभने परराष्ट्र नीति भनेको राष्ट्रिय नीतिकै एउटा विस्तारित रुप हो । त्यसका प्राथमिकताहरुको प्रभाव हाम्रो बाह्य सम्बन्धमा पर्छ नै ।

त्यसले गर्दा नेपालको प्रोफाइल, नेपालको छवि वीचमा अलिकति कमजोर भएको, नेपालको आफ्नो स्वतन्त्र निर्णय क्षमता अलिकति कमजोर भएको र नेपालको महत्वमा पनि अलिकति कमी आएको हो कि जस्तो देखिन्छ । तर, लामो अस्थिरतालाई अन्त्य गर्दै मुलुकमा अहिले राजनीतिक स्थायित्व भइसकेपछि र बलियो सरकार बनिसकेपछि चाहिँ भने यो स्थिति विस्तारै बदलिँदै गएको छ र यो बदलिएको संकेत हो भन्ने मलाई लाग्छ ।

मलाई लाग्दैन कि अमेरिकाले नेपाललाई कुनै देशको आँखाले हेर्छ । किनभने, नेपालमा अमेरिकाको निकै बलियो कूटनीतिक उपस्थिति छ । निकै ठूलो दूताबासमध्ये नेपालमा रहेको अमेरिकी दूताबास पनि पर्छ । र, बहुआयामिक सम्बन्धहरु छन् । त्यसले गर्दा नेपाललाई अमेरिकाले स्वतन्त्र ढंगले नै हेर्दै आएको थियो । हिजोकै दिनहरुमा पनि अमेरिकाले नेपाललाई अरु कुनै देशको नजरले हेथ्र्यो भन्ने लाग्दैन ।

तर के चाहिँ सत्य हो भने तपाईको आफ्नो कूटनीतिक सामथ्र्य कति बढ्यो । तपाईको आफ्नो आन्तरिक एकता कति बलियो छ । तपाईले आफ्ना सरोकारका विषयहरुलाई कति सशक्त ढंगले आफ्ना मित्रहरुसँग राख्न सक्नुहुन्छ, त्यसले मित्रहरुले हेर्ने दृष्टिकोणमा पनि र महत्वमा पनि फरकचाहिँ पर्छ ।

त्यो हुँदा म के भन्न चाहन्छु भने सरकार फरिने कुराहरुमा मात्रै होइन कि नीतिगत अस्थिरताहरुको पनि एउटा स्थिति थियो, त्यसका प्रभावहरु परे होलान् । अहिलेचाहिँ एउटा स्थिरतातिर गइसकेपछि, एउटा बलियो सरकार बनिसकेको छ । यसपालि हामीलाई सजिलो के छ भने नेपालको संविधानले आधारभूत नीतिहरुलाई दिशा निर्देश गरिदिएको छ । राष्ट्रिय हित के हो भन्ने कुरालाई परिभाषित गरेको छ र हाम्रा अन्तरािष्ट्रय सम्बन्धहरु कसरी अगाडि बढाउनुपर्छ भनेको छ । ती कुराहरुमा एकखालको नीतिगत संगति कायम भएकाले पनि हाम्रा मित्रहरुमा केही सकारात्मक परिवर्तन आएको म देख्छु ।

मलाई लाग्दैन अमेरिकाले कुनै देशसँग सम्बन्ध बनाउँदाखेरि त्यो देशको सरकार वा पार्टीले कुन विचारधारा बोकेको छ भन्ने कुरालाई आधार बनाउँछ । अहिले विचारधारामा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आयाम नै अर्को चरणमा बदलिएको छ । राष्ट्रिय हितहरु यसमा हावी हुन्छन् । दोस्रो, नेपालको कम्युनिस्ट आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा अग्रणी शक्ति पनि हो । यो प्रजातन्त्र अरु कसैले ल्याइदिएर अहिले नेपाल कम्युनिष्ट पार्टीले उपयोग गरिरहेको होइन कि यो लोकतन्त्र ल्याउनका निम्ति सबैभन्दा बढी बलिदान गरेको पार्टी हो । त्यसकारणले हाम्रो लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न उठाउने ठाउँ पनि छैन र उठाउँछ भने त्यो पूर्वाग्रहमात्रै हो । मलाई लाग्छ, यसमा हाम्रा अमेरिकी मित्रहरु यसमा प्रष्ट नै हुनुहुन्छ ।

जहाँसम्म हाम्रा पूर्वमाओवादी साथीहरुको, अथवा हिजोको द्वन्द्वकालको पृष्ठभूमिको कुरा हो, नेपालमा सशस्त्र द्वन्द्व एउटा राजनीतिक यथार्थ हो । तर, उत्तिकै यथार्थ के हो हामीले त्यसलाई शान्तिपूर्ण रुपमा अवतरण गराएका छौं । त्यसको शान्तिपूर्ण समाधान गरेका छौं र यो शान्तिपूर्ण समाधानमा अमेरिकाले नेपाललाई बधाइ दिएको छ । प्रशंसा गरेको छ र हाम्रा हिजो सशस्त्र द्वन्द्वमा रहेका साथीहरु जनतामा अनुमोदित भएर राज्य सञ्चालनको तहमा आइपुग्नुभएको छ । त्यसकारण यसमा केही समस्या छ भन्ने लाग्दैन ।

तर, कहिलेकाहीँ कानूनी रुपमा व्यक्तिगत ढंगले प्रश्नहरु उठ्ने कुरा त नेल्सन मण्डेलालाई पनि लामो समयसम्म एकखालको लिस्टमा राखिएको थियो । पछि उहाँले नोबेल शान्ति पुरस्कार पाएर, राष्ट्रपति भएर त्यसपछाडि मात्रै स्थिति बदलिएको थियो । भन्दाखेरि, यी केही प्रक्रियागत कुराहरु हुन् । होइन भने नेपालका कम्युनिष्टहरु नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवाहरु हुन् । विश्वले यही ढंगले नै बुझेको छ र व्यवहार गर्छ ।

मैले नेपालको आर्थिक विकासका पक्षहरुमा केन्द्रित रहेर मैले कुराकानी गरें । अमेरिकाले ५ सय मिलियन डलरको आर्थिक सहायता नेपाललाई प्रदान गरेको छ । नेपालको ग्रीड कनेक्टिभिटी र सडकहरुको स्तरोन्नतिका लागि यो सहयोगपश्चात् नेपालको सबैभन्दा ठूलो दाता राष्ट्रका रुपमा अमेरिका एक नम्बरमा आइपुगेको छ ।

मैले अमेरिकाको सहायताका निम्ति उहाँहरुलाई धन्यवाद दिँदै त्यो सहायता प्रवद्र्धन गर्न कमसेकम पनि २०२२ अगावै हामी अति अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन चाहन्छौं र २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न चाहन्छौं । त्यसका लागि सहयोग गर्न भनेको छु ।

दोस्रो, अहिले हाम्रो अझ बढ्ता चासो नेपालमा बाह्य लगानी भित्र्याउने कुरामा छ । र, नेपाल लगानीका निम्ति उपयुक्त छ । नेपालमा लगानी एकदम मुनाफामुल विषय हो । लगानीकर्ताहरु कसैले पनि केही गुमाउनुपर्दैन । हामी लगानीमैत्री वातावरण निर्माण गर्दै गएका छौं । हामीले उहाँहरुलाई भनेका छौं । अमेरिकाबाट लगानी बढ्ने मैले विश्वास लिएको छु ।

तेस्रो, अमेरिकी सरकारप्रति हामी आभारी छौं कि उसले हामीलाई व्यापारमा ७७ वटा वस्तुहरुमा विशेष सहुलियतपूर्ण छुट दिएको छ । मैले विभिन्न गार्मेन्टमा अरु केही सूचीहरु पनि त्यसमा थपिदिनका निम्ति आग्रह गरेको छु । उहाँहरुले विचार गर्ने कुराहरु गर्नुभएको छ । यसरी व्यापार, लगानी र आधिकारिक सहायता यी सबै क्षेत्रमा अमेरिकाले सहायताहरु बढाउँदै जाने र हाम्रो विकास यात्रामा सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु ।

उहाँहरुले स्वाभाविक रुपले नेपालको विदेश नीति र त्यसमा पनि छिमेक नीतिहरुका बारेमा जिज्ञासाहरु राख्नुभो । हामीले नेपाल एउटा सन्तुलित विदेश नीतिका आधारमा अगाडि बढिरहेको हाम्रो विकासका निम्ति हाम्रा दुईवटै छिमेकीहरुको सहायता प्राप्त भइरहेको र त्यो सहायतालाई अझ राम्रो दिशामा अगाडि बढाउन र अझ उन्नत बनाउनका निम्ति हामीले चाहिरहेको कुराहरु हामाीले बतायौं ।

नेपाल एउटा भूपरिवेष्ठित स्थितिबाट बाहिर आउनको निम्ति र यसलाई भूजडित बनाउनका निम्ति हामीलाई धेरै भन्दा धेरै कनेक्टिभिटी जरुरी छ । त्यसका निम्ति हामी अहिले दुबै छिमेकीहरुसँग मिलेर काम गरिरहेका छौं । नेपालको चासो भनेको नेपालको आर्थिक विकासमात्रै हो । हाम्रा कुनै ठूला विश्वव्यापी वा क्षेत्रीय महत्वाकांक्षाहरु छैनन् । र, अरुको महत्वाकांक्षाहरुमा नेपाल त्यसको अंग बन्न सक्दैन र बन्न पनि चाहँदैन । यो कुरा मैले प्रष्ट पारें ।

उहाँहरुले उत्तर कोरियासँगको आफ्नो सम्बन्धहरुका बारेमा बताउनुभयो । हामी कोरियाली प्रायदीपमा पूर्ण निशस्त्रीकरणको पक्षमा छौं । त्यहाँको समस्या शान्तिपूर्ण ढंगले समाधान होस् भन्ने चाहन्छौं र यसमा अमेरिकाले एउटा अग्रसरता लिइरहेको छ, त्यो सफल होस् भनेर मैले शुभकामना पनि दिएँ । मूलतः यिनै विषयहरुमा हामीले कुराकानीहरु गर्यौं ।

भेटघाट आफैंमा महत्वपूर्ण हो । तर, भेटघाटमा के कुराकानी भयो भन्ने त्यसले के परिणाम ल्यायो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ होला । कति चिजहरु भोलिको व्यवहारमा कार्यान्वयन हुँदै जाँदा देखिने विषयहरु हुन् । तर, नेपालको पछिल्लो परिवर्तन र त्यसप्रतिको बढ्दो अन्तरराष्ट्रिय चासो, उत्सुकता र त्यसप्रतिको सदभावका रुपमा यसलाई हामीले लिनुपर्छ । र, नेपालले आफ्नो सन्तुलित बाह्य सम्बन्धहरुलाई अझ बढी अगाडि बढाउँदै र अझ त्यसमा पारंगत बन्दै सबै मित्रहरुको साथ सहयोग लिएर अगाडि बढ्नुपर्छ । यस दिशामा चाहिँ मैले यो भ्रमणलाई फलदायी भयो भन्ने ठानेको छु ।

(परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा रहेका बेला पत्रकार सूर्य थापाले ‘यु स्टार्ड एगेन’का लागि लिएको भिडियो अन्तरवार्तामा आधारित, यो लेख पत्रकार थापाको अनुमति लिएर साभार गरिएको हो ।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्