आइएसका लडाकूलाई टर्कीले परास्त गर्छ : ट्रम्प

DonaldTrump
लाेकपाटी न्यूज
0 Shares

वासिङटन, ९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, ‘टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको छ ।’

इस्लामिक स्टेट परास्त भइनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उनको तीव्र आलोचना भइरहेको छ ।

ट्रम्पले ट्वीटमा अगाडि भनेका छन्, ‘एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।’

दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएसविरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो ।

विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भनेका छन्, ‘हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।’
––

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्