‘ड्राइभर पढाउँदै नेपाल प्रहरी’

police school
लाेकपाटी न्यूज
0 Shares

रमेश भुसाल/नवलपरासी । सवारी चालकलाई लक्षित गरि ‘दुर्घटना घटाऔँ, मान्छे बचाऔँ’ भन्ने नारासहित सवारी दुर्घटना न्यूनिकरण गर्न पश्चिम नवलपरासीको सुनवलमा एक हप्ते सचेतना कार्यक्रम शुरु गरिएको छ ।

सवारी चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुन थालेपछि चालकहरुलाई नै सचेत गराउन पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोष्ट सुनवलको सहकार्यमा इलाका प्रहरी कार्यालय सुनवलले सचेतना कार्यक्रमलाई अभियानकै रुपमा शुरु गरेको हो ।

राजमार्गमा गुड्ने सवारीसाधनलाई लक्षित गरी छुट्टाछुट्टै चरणमा प्रत्येक दिन ठूला सवारी साधन ट्रक, टिपर साथै मोटरसाइकल चालकलाई बिहान आठ बजेदेखि नौ बजेसम्म सचेतना प्रदान गरिरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज बिकले जानकारी दिए । मानवीय कारणले नै बढिजसो सवारी दुर्घटना हुने गरेको पाइएपछि सवारी चालकलाई लक्षित गरी सचेतना अभियान थालिएको बिकले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अभियानको शुरुवात गर्दै ट्रिपर लगायतका ठूला सवारी साधनका चालकलाई तीव्र गति, हतार, मादक पदार्थ सेवन, अस्वस्थ प्रतिस्पर्धा गरी ओभरटेक गर्नेजस्ता कार्य नगर्न सचेत गराए । मोटरसाइकल चालकले तीव्र गति र ट्राफिक नियम तथा संकेतको पालना नगर्दा अनाहकमा ज्यान जाने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सुनवलका प्रहरी नायब निरीक्षक मिनबहादुर कुंवरले बताए ।

पूर्व पश्चिम राजमार्गको सुनवल क्षेत्रमा सवारी दुर्घटना अत्याधिक बढेको र पछिल्लो एक महिनामा नै सवारी दुर्घटनाका कारण सात जनाको ज्यान गएको प्रहरी निरीक्षक बिकले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्