‘पार्टीभित्र हार्दिक एकता गरौं’ : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ पुस । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र हार्दिक एकता गर्नुपर्ने बताएका छन् ।

बुधबार स्थायी समितिको बैठकमा सदस्यहरुको धारणाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले हिजोका गुटबन्दीहरुका प्रभाव नयाँ पार्टीमा रहन नहुने उल्लेख गर्दै भने, ‘पार्टीभित्र हार्दिक एकता गरौं । सबैको भूमिकालाई सम्मान गरौं ।’

उनले पार्टीले सरकार चलाउनुपर्ने बताउँदै द्वन्द्वकालमा फर्कँदै भने, ‘हामी जनयुद्धमा थियौँ । कतिपय अवस्थामा पार्टी निर्णयविना कतिपय कारवाही भए । त्यो बेला पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी ? भन्ने बहस सिर्जना भयो । त्यसपछि हामीले बन्दुकले पार्टी होइन, पार्टीले बन्दुक चलाउने हो भन्ने कुरालाई स्थापित गर्‍यौँ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सन्दर्भमा सरकार भनेको बन्दुक भएको उल्लेख गरे । उनले थपे, ‘पार्टीले बन्दुक चलाउनु पर्छ भन्ने कुरा अहिले पनि उत्तिकै सामयिक छ ।’

उनले सरकार पार्टीको निर्णयअनुसार नै काम गर्ने बताए ।