अबको प्रहरीले स्मार्ट काम गर्नुपर्छ : महानिरीक्षक खनाल

Sarbendra Khanal
लाेकपाटी न्यूज
0 Shares

रुपन्देही, ११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी सदैव समुदायसँग सामिप्यता बढाउँदै हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताएका छन् ।

बुधबार समुदाय-प्रहरी साझेदारी अवधारणाअन्तर्गत रुपन्देही बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित दिप वोर्डिङ स्कुलमा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा आइजीपी खनालले प्रहरी समुदाय साझेदारी कार्यक्रमको कार्यान्वयनबाट समुदायलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । महिला हिंसा र घरेलु हिंसालाई नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महिला सञ्जाल, विभिन्न संघसंस्था लगायतको सहयोगमा सशक्त रूपमा अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे ।

उनले लागुऔषध दूर्व्यसन, मानव बेचबिखन, चोरी, डकैतीलगायतका आपराधिक गतिविधिविरुद्ध जनचेतनामुलक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए । समाजका विकृति विसंगति रोकथामका लागि प्रहरीको साथै हरेक नागरिक र समुदायले चासो दिनुपर्ने उनले उल्लेख गरे ।

त्यस्तै महानिरीक्षक खनालले प्रदेश ट्राफिक प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको बुधबार निरीक्षण गर्नुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन् । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी कर्मचारीहरूलाई आ-आफ्नो काम र कर्तव्य जिम्मेवारीका साथ पूरा गर्न निडर भई उच्च मनोबलका साथ काम गर्न
निर्देशन दिए ।

अबको प्रहरी तथा प्रहरी कार्यालयहरूसमेत स्मार्ट भई जनउत्तरदायी कार्य गर्नुपर्ने उनले बताए । प्रहरीले आर्थिक अनुशासनमा शून्य सहनशीलता अवलम्बन गरी समाजमा आफ्नो विश्वसनियता कायम राख्नुपर्नेमा उनले दिए । प्रहरीले आफ्नो उपस्थितिलाई अझै बढी
मजबूद बनाउनुपर्ने उनको भनाइ थियो ।