काँग्रेसले देशभर आमसभा गर्ने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले देशभर आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका थिए । काँग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केका दिनलाई काँग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन काँग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।