चार राजदूत फिर्ता बोलाउने निर्णय, को-को परे ?

gokul baskota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता बोलाउने निर्णय गरेको छ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरियाका लागि अर्जुन जगबहादुर सिंह, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भूषाललाई नियुक्त गरेको थियो।उनीहरुलाई तीन हप्ताको तयारी म्याद दिइ फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

त्यस्तै सरकारले चार नयाँ देश तथा नियोगका लागि नयाँ राजदूतहरुको सिफारिससमेत गरेको छ। सरकारले राजदूत रिक्त रहेका थाइल्याण्ड, क्यानडा, फ्रान्स र कुवेतका लागि नयाँ राजदूत सिफारिस गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापरका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।

उनलाई राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको एसिया प्यासिफिक क्षेत्र र एसियन इन्स्टीच्यूट अफ टेक्नोलोजी हेर्ने गरी स्थायी प्रतिनिधिसमेत तोकिएको छ। त्यस्तै राष्ट्र संघको जेनेभा स्थित नेपालको स्थायी नियोगमा मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई राजदूतको रुपमा सिफारिस गर्ने निर्णय गरिएको छ।

उनलाई स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदूतका साथै विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनको लागि नेपाली स्थायी प्रतिनिधसमेत तोकिएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ। उनलाई उनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन हेर्ने गरी स्थायी प्रतिनिधिसमेत तोकिएको छ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारी फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस भएका छन्। सरकारले उनलाई युनेस्कोको स्थायी प्रतिनिधिसमेत तोकेको छ।

यसैगरी मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी कुवेतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन्। उनलाई इराकका लागि गैरआवासीय नेपाली राजदूतका साथै एसिएन कोअपरेशन डायलगको स्थायी प्रतिनिधिसमेत तोकिएको छ।

यी देश तथा नियोगमा कार्यरत राजदूतहरुलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति (एग्रिमो) नआउँदा सम्मका लागि सो मुलुकको राजदूतको रुपमा काम गर्न स्विकृतिसमेत दिइएको छ।

हाल थाइल्याण्डमा डा खगनाथ अधिकारी राजदूतको रुपमा कार्यरत छन्। उनी मन्त्रालयका सहसचिव हुन्। कुवेतका लागि नेपाली राजदूतमा यज्ञबहादुर हमाल कार्यरत छन्। उनी सन् २०१४ डिसेम्बरबाट राजदूतको रुपमा कार्यरत छन्।

त्यस्तै फ्रान्समा अम्विकादेवी लुइटेल र क्यानडामा कालिप्रसाद पोखरेल राजदूतको रुपमा कार्यरत छन्। उनीहरुको म्याद सकिनु अगावै सरकारले नयाँ राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति सम्बन्धी नयाँ निर्देशिकामा कार्यकाल सकिनु तीन महिना अगाडि नै राजदूत नियुक्तीको प्रक्रिया सुरु गर्ने उल्लेख छ। यसअघि सरकारले चार देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो।