विवेकशील साझामा लफडा

patrapatrika
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् ।

अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भुमिका नदिएको उनीहरूको आरोप छ ।

पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता/कार्यकर्ताहरूसँग छलफल गरेर काठमाडौँ फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेतृ तथा स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् । उनले मंगलबार फेसबुकमा लेखेकी छिन्, ‘जो युवादेखि त्रसित छ, उ यो युगदेखि त्रसित छ । विज्ञान प्रविधिको फड्कोदेखि त्रसित छ, संगठित होसिला युवाको जोसदेखि त्रसित छ । अचम्म यहाँ छ, अब उ जान्छ कहाँ ? उ न विगत जान सक्छ न छलाङ मारेर भविष्य । वर्तमानमा उसको दिमाग प्यारालाइज्ड छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।