‘एक महिनाभित्रै डिजिटल नेपाल’ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महिनाभित्र ल्याइने बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले प्रविधिको पहुँच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गरे ।

उनले भने, “प्रविधिको प्रयोगमा पहुँच मात्र हैन, त्यसबाट प्राप्त उपलब्धि महत्वपूर्ण कुरा हो, जब समाजमा उत्पादन वृद्धि र सीप सिकाउँछ त्यहाँ प्रविधिको सफलता र मानिसको जीवनसँगको सामिप्यता ठहरिन्छ । तर, यसको दुरुपयोग र विकृतिलाई हटाउनै पर्छ ।”

उनले भने, “प्रविधि मान्छेकै नियन्त्रणमा हुनुपर्छ । तर, मान्छेको जीवनलाई यसले सहज चाहीँ बनाउनुपर्छ । एउटा स्वीचले संसारै ध्वस्त हुने यही प्रविधिकै कारणले त हो नि । त्यसैले मानिसलाई सहज बनाओस् । तर, प्रविधिले मान्छेलाई कहिल्यै नजितोस् । आवश्यकताअनुरुप प्रविधिको आविष्कार र प्रयोग गर्न सकियोस् ।”

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सरल र उच्चतम प्रयोगका लागि विद्युतीय कारोबारसम्बन्धी कानूनलाई समय सान्दर्भिक बनाइने बताए । प्रविधिको पहुँच अभिवृद्धिका साथै ‘डिजिटल भिडाइड’ कम गर्ने उद्देश्यका साथ सरकारले शुरुवातको रुपमा विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कम्प्युटर प्रविधिको माध्यमबाट समाजलाई आधुनिकतातर्फ लैजान र मर्यादित समाज निर्माणमा विशेष ध्यान दिन जरुरी भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रविधिको माध्यमबाट विकास र समृद्धिलाई सार्थक तुल्याउन व्यवसायीमैत्री नीति अवलम्बन गर्न जरुरी भएको उल्लेख गरे ।

क्यान महासङ्घका अध्यक्ष हेमन्तकुमार चौरासिया, क्यानका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्मालगायतले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसात गर्नुपर्ने बताए ।