अब वैदेशिक रोजगारीमा जानेहरुलाई प्रदेशबाटै श्रम स्वीकृति

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ पुस । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति दिन थालिएको छ ।

पहिलो चरणमा आइतबार प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन सुरु गरि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने तयारी गरेको हो ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने व्यवस्था राजधानीबाट मात्र हुँदा विभिन्न जिल्लाका बासिन्दालाई काठमाडौं धाउन निकै झन्झट भइरहँदा प्रदेशबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि सेवाग्राही खुसी भएका छन् ।

जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेशस्थित कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका काम गरिने पनि जनाइएको छ ।

यस्तै सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत काम पनि प्रदेशस्तरमै हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्