मालवीय पूर्वीय दर्शनका ज्ञाता : प्रचण्ड

prachanda-10
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १५ पुस । काशी हिन्दू विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको १५७औँ जन्मजयन्तीका सन्दर्भमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई सम्मान गरिएको छ ।

सोही विश्वविद्यालयमा शिक्षा लिएर उनीहरुले मुलुकको विकासमा योगदान गरेबापत सम्मान गरिएको छ । महामाना मालवीया मिसनले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई सम्मान गर्दै मालवीयले भारतीय संस्कृतिका मर्मज्ञ तथा पूर्वीय दर्शनका ज्ञाता भएको र भारतको स्वतन्त्रता आन्दोलनलाई निष्कर्षमा पुर्याउन योगदान गरेको विचार व्यक्त गरे ।

प्रचण्डले भने, “म युवा छँदा नेपालीले गरेको राजनीतिक सम्मेलनमा काशीमा सहभागी भएको छु ।” नेपाल र भारतको सम्बन्ध बलियो बनाउने दुई मुलुकका संस्कृति महत्वपूर्ण रहेको बताउँदै गया, काशीलगायत स्थान पहिलेदेखि नै नेपालीले मोक्ष, शिक्षा र राजनीतिका लागि पवित्रस्थलका रुपमा लिने गरेको बताए ।

नेपालका लागि भारतीय दूतावासका डेप्युटी चिफ अफ मिसन डा. अजयकुमारले पत्रकारिता, समाजसेवा, शिक्षा, राजनीतिलगायत क्षेत्रमा मालवीयको योगदान रहेको स्मरण गरे । विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको उक्त कार्यक्रममा मालवीय सन्देश वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष जीएन सरस्वती, नेपाल–भारत पुस्तकालयका प्रमुख डा. महेशचन्द्र शर्मा, साहित्यकार जीवनचन्द्र कोइरालालगायतले मालवीयको सरलपन, सादा जीवन तथा उच्च विचारको नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिँदै पाँचखालमा नयाँ काशी विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको जानकारी दिए ।