मन्त्री अधिकारीको प्रष्टोक्ति : वाइडबडी प्रकरणमा मेरो संलग्नता छैन

Rabindra_adhikari01
फाइल फोटो
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नहरेको दाबी गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले दुई वटा वाइडबडी विमान खरिद प्रक्रियामा कहिँकतै पनि आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।

मन्त्री अधिकारीले महालेखाले प्रश्न उठाएपनि कानूनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको उल्लेख गरे ।

उनले भुक्तानी दिने  सन्दर्भमा कहिले भएको हो भन्ने खोज्न आग्रहसमेत गरे । समयमा भुक्तानी नबुझाए हुने हानी नोक्सानीको बारेमा बुझ्नुपर्ने उनले बताए ।

पेमेन्ट पुरानै सेड्युलअनुसार भएको तर आफ्नो कार्यकालमा परेका कारण मानिसहरुले अनियमितता भएको हुनसक्ने आशंका गरेको उनले बताए । उनले भने, ‘२/३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’

उनले आफ्नो कार्यकालमा भएका कामको सबै जिम्मेवारी लिने भन्दै त्यसबाट आफू नभाग्ने दाबी गरे ।

उनले निगमलाई डुबाउने खेल पटकपटक भएको बताउँदै त्यसबाट आफू र सरकार अलिकति पनि विचलित नहुने प्रष्ट पारे ।

उनले भने, ‘वायुसेवा निगमको भविष्य उज्यालो छ । यसलाई माथि पुर्‍याउन हामी प्रयासरत हुनेछौं ।’