काँग्रेसलाई पौडेलेको झटारो- संसद्को विरोध ‘के निउँ पाउँ, कनिका बुकाउँ’

Devendra Poudel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले २५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘प्रधानमन्त्रीले अब बस्ने सदनको बैठकमा जवाफ दिनुपर्छ । सरकार जवाफ नदिई भाग्दैन । सरकारले दृढतापूर्वक सांसदले उठाएको प्रश्न फेश गर्छ ।’

साक्षात्कारमा बोल्दै पौडेलले सांसदले उठाएको प्रश्न प्रधानमन्त्रीलेमात्रै नभई सम्बन्धित मन्त्रीहरुले पनि दिने स्पष्ट पारे । उनले भने, ‘सांसदले उठाएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले पनि दिनुहुन्छ । सरकार भाग्दैन । सभामुख पनि भाग्नुहुँदैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यो विषयमा ‘के निउँ पाउँ, कनिका बुकाउँ’ उखानजस्तै विरोधको लागिमात्रै विरोध गरेको उनको आरोप छ । उनले भने, ‘हिजोको सदनमा सभामुख महराले बोल्न नदिने कुरै गर्नुभएको छैन । सभामुखले एक जना माननीयको नाम पनि लिनुभएको थियो । तर, उहाँ मिनेन्द्र रिजालले बोल्न मान्नुभएन । बोल्न नदिएको भए उहाँहरु नारा लगाएर रोष्ट्रममा कसरी जानुभयो त ?’

पौडेलले सभामुख महराले संसदमा निरंकुशता लाद्ने कुनै सम्भावना नभएको पनि विश्वास दिलाए । उनले भने, ‘बरु, यो सरकारको कामकारवाहीमा कतै ढिलासुस्ती भयो होला तर सरकार कुनैपनि प्रकारको निरंकुशता लाद्न चाहँदैन । सरकारले निरंकुशता लाद्न खोज्यो भनेर लगाइएका आरोपहरु झुठा हुन् । कसैलेपनि यसबारेमा भ्रम नपालौं ।’

उनले २५ गते नियमसंगत रुपमा सदन चल्नेपनि स्पष्ट पारे ।