‘प्रधानमन्त्रीले जवाफ दिएपछि सदन खुल्छ’ : सचेतक भुसाल

Pushpa Bhusal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभाकी सचेतक पुष्पा भुसालले सरकारले आफूहरुसँग सहकार्य गर्न नचाहेको आरोप लगाएकी छिन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्, ‘मौलिक हकसम्बन्धी कानून बनाउनका लागि हामीले धेरै सहयोग गरेका हौं । संविधान कार्यान्वयनका लागि हामीले सहयोगी भूमिका निर्वाह गरेका हौं । तर, सरकारले भने हामीसँग सहकार्य गर्न चाहेको छैन ।’

साक्षात्कारमा बोल्दै उनले सदन प्रमुख प्रतिपक्षी दलको भएकोले सदनमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको प्रस्ताव राख्दा सांसदहरुले पनि प्रश्न गर्न पाउने व्यवस्था नियमावलीमा रहेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘सभामुख पनि संसदीय भावनाअनुसार अघि बढ्नुपर्छ । प्रक्रियाको कुरा हो भने पनि सांसदहरुले प्रश्न सोध्ने अधिकार छ । सभामुख त सदनको अभिभावक हो । उहाँ हाम्रो नेता हो । तर, उहाँले त्यस्तो भूमिका निर्वाह गर्नुभएन् । यसमा हामीलाई दुःख लागेको छ।’

आफूहरुले सांसदहरुले प्रश्न गर्न पाउनुपर्छ भनेर संसदको सर्वोच्चताका लागि लडेको पनि उनले जिकिर गरिन् । उनले भनिन्, ‘सभामुख कृष्णबहादुर महरासँगको अनौपचारिक छलफलमा पनि प्रश्नोत्तर गरौं भन्ने सहमति भएको थियो । तर, पछि उहाँले प्रश्नोत्तर गर्न दिनुभएन ।’

उनले प्रधानमन्त्रीले संसदमा जवाफ नदिइकन भाग्न नपाउने बताइन् । उनले भनिन्, ‘अब यसको निकास भनेको सभामुखको हातमा छ । संविधान र प्रतिनिधिसभा नियामावलीलाई गलत नजिर नबनाऔं ।’ भुसालले प्रधानमन्त्रीबाट जवाफ नआएसम्म र आफूहरुले प्रश्न गर्न नपाएसम्म सदन सूचारु गर्न सहयोग गर्न नसकिने पनि चेतावनी दिईन् ।

उनले सभामुखले भोलि सदन सुचारु गर्नका लागि निकास दिने पनि विश्वास दिलाइन् । उनले भनिन्, ‘सांसदहरुले प्रश्न सोध्न पाउनुपर्छ । यो सांसदहरुको अधिकार हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा निकास निस्किन्छ ।’ सभामुख महराले गलत नजिर बसाल्ने काम नगर्ने र मध्यमार्गी बाटो ल्याउनेमा आफूहरु विश्वस्त रहेको पनि भुसालले जनाइन् ।