न्यायालयका विकृति हटाउँछौं : कानूनमन्त्री ढकाल

Bhanubhakta Dhakal
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, २९ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् ।

उक्त मन्त्रालयद्वारा आइतबार विराटनगरमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उनले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भई संविधानबमोजिम मौलिक हकलगायत ३३९ कानून बनाइसकेको जानकारी दिए ।

कानूनको पालना गराउन सशक्त योजना बनाई गाउँपालिका र नगरपालिका तहसम्म कानून साक्षर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले यस प्रदेशले २४ कानून पारित गरिसकेको र यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक निर्देशिका तथा कार्यविधि बनाइने बताए ।

प्रदेश नं १ का महान्यायाधिवक्ता चूडामणि आचार्यले कानून पालना गराउन सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । विराटनगर उच्च बारका अध्यक्ष रामप्रसाद भण्डारीले सरकाले बनाएका कानूनका विषयमा नागरिकले थाहा पाउन कानूनी साक्षता अभियान सञ्चालन गरिनुपर्छ भने ।