कर्णालीमा मातृ मृत्युदर बढ्यो, यस्तो छ ४ वर्षको तथ्याङ्क

sab-baby-death
लाेकपाटी न्यूज
0 Shares

वीरेन्द्रनगर, १ माघ । चिकित्सकको लापर्वाहीले होस् या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा वर्षेनी कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ ।

पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन् । कतिपयको स्वास्थ्य संस्थामा र्पुयाउने क्रममा बाटोमै ज्यान जाने गरेको छ ।

पाँच वर्षयता कर्णाली प्रदेशमा ११५ महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार चार वर्षमा एक सय १५ जनाले ज्यान गुमाएका छन्। आव २०७०-७१ मा ३३, २०७१-७२ मा १४, २०७२-७३ मा १३, २०७३-७४ मा १८ तथा आव २०७४-७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन् ।

सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ । नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिकको विश्वास हुँदैन । सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठले बताए ।

पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्का बताउँछिन् । “भारत गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या अत्यधिक छ, यसले सुत्केरी अवस्थामा जटिलता ल्याउने गरेको छ,” उनले भने, “यस क्षेत्रमा रक्तअल्पताका कारण तथा समयमै स्वास्थ्य संस्थामा नजाँदा महिलाको ज्यान जाने गरेको छ ।”

कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा र्पुयाउन थालेको हो । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो ।

प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ ।

कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल र्पुयाएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । “कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हौं” उनले भने, “अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।” पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताए।

कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा र्पुयाउन थालिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्