यी हुन् तलव नलिने र आफ्नो सम्पत्तिले समाजसेवा गर्ने मेयर

Dev kumar nepali
लाेकपाटी न्यूज
0 Shares

बलेवा, १७ पुस । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका छन् ।

उनले अहिलेसम्म तलबभत्ता पनि लिएका छैनन् । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहेका छन् । “केही परिवर्तन गरेर देखाउँछु,” नेपालीले भने । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उनको योजना छ । अहिलेसम्म उनले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराएका छन् ।

बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले रु. २१ लाख सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताए । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गरेका छन् ।

उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराएका छन् ।

कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उनले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरभित्र ४४ विद्यालय छन् ।

नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताए ।

“सबै वडामा विपन्न, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतको सूचक झल्कने परिचयपत्र बनाउँदै छौँ”, पोखरेलले भने, “तयार भएपछि निःशुल्क सेवाको थालनी हुनेछ ।” नेपालीले आफ्नै खर्चमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराएका छन् ।