धाराले ल्यायो गुरुवा गाउँमा खुसीयाली

m_DSC_0869
लाेकपाटी न्यूज
0 Shares

बाँके, १९ पुस । छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको बाँकेको गुरुवा गाँउको दलित समुदायको अहिले मुहार नै उज्यालो बनेको छ ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि दलित बस्तीमा खुसीयाली छाएको हो । बाँकेको जानकी गाउँपालिकाको वडा नं.–५ गुरुवागाँउमा ५१ वटा घरमा खानेपानीका धारा जडान भएपछि उक्त गाउँका बासिन्दा पानीको समस्याबाट मुक्त भएका छन् ।

गरीब बस्तीको रुपमा चिनिएको बेलहारीको गुरुवा गाउँका ५१ जनाको घरमा धारा नरहेको भनी जानकी गाउँपालिकाको सिफारिसमा धारा जडान गरिएको नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका कार्यक्रम संयोजक पवन सिहंले बताए ।

धारा जडान भएपछि जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, वडा अध्यक्ष रमेश बर्मा, किशोर थापा र अधिकारकर्मी आलम खानसहितको एक टोलीले बिहीबार गुरुवा गाउँमा पुगी धाराको स्तर लगायतका विषयमा सर्बसाधारणसँग जानकारीसमेत लिएका छन् ।

गाउँपालिका अध्यक्ष यादवले वडाको प्रत्यक्ष निगरानीमा निशुल्क रुपमा एक्राले जडान गरेको धारा निकै महङ्गो र गुणस्तरीय भएको बताए । उनले जानकी गाउँपालिका अन्तरगत गुरुवा गाँउमा जडान भएको धाराले उक्त बस्तीलाई नमूना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

घरमा नै धारा जडान भएपछि हर्षित हुदै स्थानीय राजाराम धोबीले गाँउपालिका अध्यक्षलाई धन्यवाद दिदै भने एक्राले धारा जडान गरेर ठूलो उपकार गरेको छ । यस्तै रामप्रसाद राढले धारा जडानपश्चात् टाढाबाट पानी ल्याउने समस्याको मात्र अन्त्य नभई आफनो खेतमा तरकारी उत्पादनका लागि समेत सहज भएको बताए ।

‘१० मिनेट लगाएर पानी ल्याउनुपथ्र्यो, पानीका लागि छिमेकीसँग संधै झगडा हुन्थ्यो’ गुरुवागाउँ निवासी अलि बक्स साईले भने, ‘हिजोआज आँगनमै धारा बनेको र पानीका लागि धाउनुपर्ने बाध्यता टरेको छ ।’

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्तिकुमार बंशकारले ‘एक घर एक धारा’को अभियान संस्थाले सुरु गरेको बताउँदै यो अभियानलाई सफल बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताए । वडा अध्यक्ष रमेश बर्माले जनताको श्रमदान समेत नगराई एक्राले जडान गरेको धाराले जनताका लागि ठूलो राहात भएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्