कांग्रेसको आमसभा : यी हुन् वक्ता र १६ मुद्दा (सूचि)

Nepali congress_flag logo
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो ।

काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतबार संसद बैठकमै सरकारलाई चुनौती दिँदै भनेका थिए, ‘प्रतिपक्षी कहाँ छ भनेर अब काँग्रेसले सडकदेखि सदनसम्म देखाउँछ ।’ थापाकै शब्दमा सरकारलाई देखाउन कांग्रेसले सभा गर्न लागेको हो ।

७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो । देशव्यापी आमसभामार्फत् कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्ने बताएको छ ।

कुन जिल्लामा को वक्ता ?

– वरिष्ठ नेता रामचन्द्र पौडेल –तनहुँ
– उपसभापति विमलेन्द्र निधि – धनुषा
– महामन्त्री डा. शशाङ्क कोइराला – नवलपुर
– पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा – चितवन
– पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – झापा
– केन्द्रीय सदस्य डा. शेखर कोइराला – मोरङ
–केन्द्रीय सदस्य गगन थापा – पोखरा
– केन्द्रीय सदस्य गुरु घिमिरे – अर्घाखाँची

केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।

यी हुन् कांग्रेसले उठाएका १६ मुद्दा

काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । काँग्रेसले उठाएका १६ मुद्दा यस्ता छन् ।

१. सरकारको अधिनायकवादको विरोध
२. संसदीय सर्वोच्चता कायम गर्न माग
३. सरकारको भ्रष्टाचार
४. राज्य आतंक बन्द गर्न माग
५. संसदीय मर्यादा पालना गर्न माग
६. हत्याहिंसा बन्द गर्न माग
७. वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८. निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९. डा. गोविन्द केसीसँग भएका सम्झौता पूरा गर्न माग
१०. चर्को मूल्यवृद्धि फिर्ता गर्न माग
११. तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२. अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३. सुशासन कायम गर्न माग
१४. विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६. राज्य सञ्चालन पारदर्शी गर्न माग ।

आजको कांग्रेसको शक्ति प्रदर्शनमा यसको पार्टीको हैसियत देखिने नेताहरुले बताएका छन् । यता नयाँ शत्ति, नेपाल, साझा पार्टी लगायतका दलहरुको पनि कांग्रेसको सभामा अप्रत्यक्ष रुपमा सहयोग गर्नेछन् ।