देशभरका सरकारी चिकित्सकलाई काठमाडौं किन बाेलाइयाे ?

Doctor
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ माघ । देशभरका सरकारी चिकित्सकलाई काठमाडौं आउन निर्देशन दिइएको छ । सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो ।

समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको छ । देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् ।

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले संघ र स्वास्थ्य मन्त्रालयबीच गत २९ पुसमा सहमति भए पनि सरकारले कार्यान्वयनमा वास्ता नगरेको बताए । समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा सरकार मौन देखिएको भन्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत सरकारी चिकित्सलाई काठमाडौं आउन आग्रह गरिएको संघका अध्यक्ष पाण्डेको भनाई छ ।

संघले विज्ञप्ति जारी गरी सहमति कार्यान्वयन हुन नसके प्रदेश तथा स्थानीय तहमा समायोजन भएका चिकित्सकको उच्च अध्ययन, तालिम, वृत्ति विकासमा असर पर्ने बतायो । यस्तै, चिकित्सकलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा बढुवामा गम्भीर असर पर्ने सरकारी चिकित्सक संघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्