अब हरेक विद्यालयमा एक नर्स राखिने

नर्स
लाेकपाटी न्यूज

काठमाडौं, १२ फागुन । अब हरेक विद्यालयमा नर्स राखिने भएको छ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको हो ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश नं. ३ का २० विद्यालयमा नर्स खटाएको छ ।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले भनिन्, ‘अहिले १३ जिल्लाका २० विद्यालयमा नर्स राखिएको छ । नेपालको इतिहासमै पहिलोपटक सामुदायिक विद्यालयमा यस्तो सेवा सुरु भएको छ ।’

विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने गर्छन् ।

यस्तै, व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरूको जिम्मेवारी हुन्छ । स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनु परे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ । नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

यसै क्रममा नारायणी मा.वि, चितवनकी विद्यालय नर्स सञ्जु तिम्सिनाले यस्तो कार्यक्रम विद्यार्थीका लागि उपयोगी भएको बताएकी छन् । उनले भनिन्, ‘विभिन्न रोगको संक्रमण साथै सिजनल इन्फ्लुएन्जाको समस्या विद्यार्थीमा हुने गरेको छ । अस्पतालमा तत्काल आवश्यक पर्ने इमर्जेन्सी उपचार पनि हामीले दिएका छौँ । खानपानमा पनि सुझाब दिने गरेका छौँ । यस्तै, रजश्वालाका बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या छ । हामी उनीहरूलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउँछौँ । विद्यार्थी बिरामी भए भरतपुर अस्पतालमा रिफर गर्छौँ । यो विद्यार्थीका लागि निकै उपयोगी छ ।’

त्यस्तै पद्मकन्या मा.वि काठमाडौंकी विद्यालय नर्स उर्मिला पुडासैनी विद्यार्थीमा दाँत र पोषणको समस्या बढी भएको बताउँछिन् । उनी भन्छिन्, ‘विद्यार्थीमा जंकफुडले सबैभन्दा बढी समस्या निम्त्याएको छ । पोषणको कमी र दाँतको समस्या बढी छ । मैले आफ्नो विद्यालयमा जंकफुडको प्रयोग रोक्ने प्रयास गरेको छु । घरबाटै खानेकुरा ल्याउन प्रेरित गरिरहेकी छु । महिनावारी भएका बेला छात्राहरूलाई सेनेटरी प्याड विद्यालयले दिएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्