अर्थमन्त्रीको बेलायत भ्रमण : लगानी प्रतिवद्धतामा प्रगति कति ?

Yubraj-Khatiwada
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ फागुन। अर्थमन्त्री डा. युवराज खतिवडा बेलायतमा आयोजित तीन दिने लगानी सम्मेलनपूर्वको कार्यक्रम सकेर स्वदेश फर्किएका छन् । बेलायत भ्रमणको क्रममा खतिवडाले नेपालमा लगानी भित्र्याउनबारे औपचारिक अनौपचारिक बैठकहरु गरेका थिए ।

अर्थ मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा लगानी भित्राउने सम्बन्धी दर्जन कार्यक्रममा उनले भाग लिए । यसैगरि बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससँग बेलायतको हाउस अफ कमन्समा भेटघाट गरे । सो भेटमा लर्ड बेट्सको जिज्ञासामा मन्त्री खतिवडाले भूकम्पपछिको पूर्ननिर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिएका थिए ।

नेपालको संघीय संरचनामा भएमा भएका प्रगति एवं नेपालले समावेशीता सम्बन्धमा हासिल गरेका उदाहरणीय उपलब्धी बारेमा जानकारी पाउँदा आफू उत्साहित भएको मन्त्री लर्डले बताएका थिए । साथै नेपालको विकास र समृद्धिका लागि बेलायत सरकार जस्तोसुकै सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताएका थिए ।

लर्डले नेपालको संविधान विश्वमै समावेशीताको सम्बन्धमा उत्कृष्ट भएको भन्दै विश्वले नेपालबाट सिक्नुपर्ने धारणा राखेका थिए । यस्तै सिटी अफ लण्डनका मेयरले लण्डनस्थित ठूला लगानीकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा करिब चार ट्रिलियन डलर लगानी गर्न समूहमै उत्साह व्यक्त गरेका थिए । कार्यक्रममा नेपालको सोभर्जिन रेटिङ गर्न अत्यन्तै आवश्यक भएको धारणा राख्दै वित्तीय क्षेत्रका नयाँ उपकरणहरुको नेपालमा प्रयोग गर्न समेत सहभागीहरुले सुझाव दिएका थिए ।

स्ट्याण्डर चार्टर्ड बैंकको केन्द्रिय कार्यालयमा भएको बैठकमा दीर्घकालीन बोण्डहरु जारी गरी दिर्घकालिन पूँजी निर्माण गर्न आवश्यक पर्ने प्राविधिक लगायत सम्पूर्ण सहयोग गर्न स्ट्याण्डर चार्टर्ड बैंक सधैं तत्पर रहेको धारणा व्यक्त गरेको थियो । नेपाल सरकार, डिएफआइडि, स्टयाण्डर्ड चार्टर बैंकसमेतको सहकार्यमा अघि बढाउने सहमति भयो ।

सो सन्दर्भमा सोभर्जिन रेटिङ लगायतका विषयमा बैंकले राखेका जिज्ञासा उपर अर्थमन्त्री खतिवडाले वस्तुगत धारणा राखेका थिए । नेपालको एनएमबी बैंकसँग सहकार्य सुरु गरीसकेको कमनवेल्थ डेभल्पमेन्ट कर्पोरेशनको मुख्य कार्यालयमा कर्पोरेशनका अध्यक्ष एवम् प्रमुख कार्यकारीको सहभागितामा भएको भेटमा नेपालका विकास कार्यक्रममा यथाशक्य सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल डेभलपमेन्ट कन्फरेन्समा बेलायतलगायत यूरोपका विभिन्न मुलुकका उद्योगि व्यवसायि तथा गैरआवासीय नेपालीहरुको सहभागिता भएको थियो । दुई सयभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको सम्भावना र सुधारहरु बारेमा चासो व्यक्त गरेका थिए । नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायीहरुले पनि आधुनिक किसिमले कसरी ठूला उद्यमी बन्न सकिन्छ र थोरै पूँजीले रोजगारी सिर्जना गरी अन्तर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो कार्यक्रममा बेलायती सांसदका शीर्ष व्यक्तित्व, हाउस अफ लड्र्सका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधिले नेपालको विकास, लगानी र समृद्धिका बारेमा चासोका साथ सहभागी भएका थिए । सो बृहत सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप सशक्त एवं गतिशील बनाउन कानून परिर्माजन गरी सो संस्थामार्फत् लगानीकर्तालाई एकद्वार सेवा प्रवाह हुने बताए ।

उनले कानूनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसाबले कसरी लगानीका लागि तुलनात्मक रुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै सो अवसरको लाभ लिन बेलायती, युरोपेरी तथा गैरआवासीय नेपाली लगानीकर्तालाई आब्हान गरे ।

ब्रिटेन नेपाल सोसाइटिले वेलायती राजकुमारको प्रमूख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा उपस्थित तीन सयभन्दा बढी सहभागीलाई नेपालमा लगानी गर्न आव्हान गरे । बेलायतमा रहेका बेलायतीहरु नेपालमा आएर कुनै न कुनै रुपमा सहभागी भएका, नेपालमा सहयोग गरेका र नेपालको माया गर्ने सयौं बेलायतीसँग छलफल हुनु आफैंमा सकारात्मक भयो ।

गैरआवासीय नेपाली संघ, यूकेले आयोजना गरेको कार्यक्रममा अहिलेसम्मका काम र हामीले अघि बढाउन थालेका विकासका एजेण्डाहरु गैरआवासीय नेपालीहरुले नेपालको विकासमा गर्नसक्ने योगदानबारे छलफल भयो । उनीहरुले नेपालमा आएर लगानी गर्ने आफ्नो इच्छा रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा लगानी गर्न इच्छा भएका व्यक्ति एवं संस्थाहरुको सहभागिता गराइ ब्रिटिस एक्सपर्टिज इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । सम्भाव्य लगानीकर्तासँग नेपालमा भएका निजी लगानीका क्षेत्रहरु जानकारी दिनुका अतिरिक्त सार्वजनिक निजी साझेदारी सम्बन्धि हाम्रो पछिल्लो नीतिका साथै नेपालमा लगानी गर्दा पाउने प्रतिफलबारे छलफल भयो । सो सम्बन्धमा दुई सरकारबीच हालसम्म भएका प्रगति र अब सहमतिका लागि सुल्झाउनुपर्ने विषयहरुसमेत छलफल भयो ।

अब छिट्टै नै थप वार्ता गरी यसलाई टुङ्गोमा पुर्‍याउने समझदारी भयो । लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सले आयोजना गरेको कार्यक्रममा नेपालले अङ्गिकार गरेको वित्तीय संघीयता सम्बन्धी प्रवचन दिए । कार्यक्रममा छिटो र सहज ढंगले वित्तीय संघीयता कार्यान्वयन गर्न सम्भव भई नेपालको विकास र समृद्धिको जग बसाली अघि बढेको बताए । सो कार्यक्रममा लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थीहरुले समेत निकै महत्व र चासोका साथ लिएका थिए ।

बेलायतस्थित नेपालीसँग शिक्षाको क्षेत्रमा लगानी गर्न चाहने धेरै संस्थासँग विभिन्न चरणमा छलफल भए । जसमा उच्च शिक्षाको क्षेत्रमा प्राविधिक, वैज्ञानिक, अनुसन्धानमूलक र सीप विकास गर्ने क्षेत्रमा कसरी सहकार्य गरेर उच्च शिक्षामा बेलायती संस्थालाई गुणस्तरीय शिक्षा र सीप प्रदान गर्न सहयोगि बन्न सक्छ भन्ने विषयमा त्यहाँका शैक्षिक लगानीकर्तासँगको छलफल उपलब्धिमूलक भयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्