महिला वेश्या, वेश्यासँग सम्भोग गर्ने पुरुष चाहिँ सदाचारी ?

Rajbabu shrestha
अब भन्नुस् तपाईहरू नै, को ठूलो वेश्या ? त्यो हिसाबले हेर्ने हो भने त म वेश्यालाई बिलकुलै पवित्र देख्छु। किनकि, उनीहरूमा छलकपट र धोका भन्ने चीजहरू बिलकुलै हुँदैहुँदैन। जस्तो जे छ, त्यो खुल्ला छ। उनीहरू सिसाजस्तै पारदर्शी देखिन्छन्। किनकि, वेश्याहरू भन्न सक्छन् आफूलाई वेश्या हुँ भनेर।
लाेकपाटी न्यूज

राजबाबु श्रेष्ठ, गौशाला महोत्तरी

विपन्नमा कोही शरीर बेच्छिन्। तर, मनको भने उनी कुमारी हुन्छिन्। कोहीकोही सम्पन्नतामा पनि आफ्नो शरीर बेच्छिन्, बेच्छन्। तर, पैसाको लागि होइन। केवल ऊ आफ्नो यौवनको आगो निभाउन चाहन्छिन् र चाहन्छन् विपरित लिङ्गबाट।

तर, कोहीकोही यी दुवैमध्ये कुनै गर्दिनन् र गर्दैनन्। तर, पनि ऊ व्यभिचार गरिरहन्छिन् र गरिरहन्छन्। तर, शरीरले होइन, केवल मनले।, तर पनि ऊ बाहिरबाट पवित्र देखिरहेको हुन्छ, समाजको चश्माम । तर, उसैलाई थाहा छ कि ऊ कत्तिको पवित्र अथवा दूषित भन्ने कुरा। यिनीहरू, यौनप्यासको तन्द्रमा लठ्ठिरहेको हुन्छ। भित्रभित्रै यौनको कुहिएको तालमा मनमनै गोता लगाइरहेको हुन्छ।

तर, समाज वेश्यालाई मात्रै घृणा गर्छ। एकतर्फी वेश्यालाई मात्रै, घृणा र पतीतको चश्माबाट हेर्छन्। फेरि त्यही समाजभित्रबाट केही व्यक्ति भने, त्यही वेश्याहरूबाट यौनप्यास मेटाई तृप्त हुन्छन्। जबकि, उनीहरूको घरमा धर्मपत्नी रहन्छ र खुट्टा धोएर पानी खाई लोग्नेको लामो आयुको प्रार्थना गर्छन्। तर, पुरुषहरू उनै पवित्र पत्नीलाई धोका दिइरहेका हुन्छन्। व्यभिचारीको तुस भने कहिल्यै मरेको हुन्न त्यस्ता पुरुषहरूमा।

यदि, वेश्या बन्नु घृणित काम हो भने वेश्याहरूसँग गई यौनप्यास मेटाएर आउने पुरुषहरू कसरी सही हुन सक्छन् ? पुरुषहरू, वेश्या नै भए पनि एकछिनको चरम आनन्द लिएर तृप्त हुन चाहन्छन्। तर, त्यही वेश्यालाई अर्धाङ्गिनी बनाउन भने कदापि स्वीकार्दैनन्। किनकि, उनीहरू आफ्नो पत्नीमा सतीत्व खोज्छन्। तर, आफूहरू भने आफ्नो पतीत्व गुमाएका हुन्छन्न्। पत्नीहरू भने पतीत्व गुमाएका पतिलाई पनि स्वीकार्नु बाध्य हुनुपर्छ। यो हो हाम्रो खोक्रो आदर्शको कालो र डरलाग्दो वास्तविकता।

तर, यही घृणित काम पत्नीहरूले गरेको भए, पतिहरू आफ्ना पत्नीहरूलाई घरबाट निकाला गरिदिन्छन्। के शुद्धता भनेको केवल नारीहरूले मात्रै राख्नुपर्ने हो र ? पुरुषहरूको कुनै दायित्व हुन्न यसमा ? सोही काम मजबुरीमा गरे नारीहरूले, वेश्या कहलिने, तर त्यही वेश्याबाट तृप्त हुने पुरुषहरू भने अगेनामाथिको ओभानोको ओभानो नै रहिरहने ?

कोहीकोही पत्नीहरू पनि छन् यस्ता, आफ्ना रामजस्ता पतिलाई विश्वासघातको थाङ्नामा सुताएर पर पुरुषसँग यौनप्यास मेटाई आफू तृप्त हुन्छिन् र पतिलाई शंकासम्म हुन दिँदिनन्। पतिको नजरको सामुन्ने एक कुशल प्यारी अर्धाङ्गिनी पतिव्रतताको अभिनय गरिरहने यस्ता स्त्रीको पनि, मनबाट व्यभिचारको तुस कहिल्यै हराएर जाँदैन। यिनीहरु पनि तिनै व्याभिचारी पुरुषजस्तै हुन्।

विपन्नतमा वेश्यावृत्ति गर्ने र सम्पन्नतामा यौनप्यास मेटाउने दुवैको स्त्रीको यौनाङ्ग र परस्त्रीसँग यौनप्यास मेटाउने पुरुषको यौनाङ्गमा कुनै भिन्नता छैन। आखिरी सन्तुष्ट हुने चीज भनेको स्खलन नै त हो। फेरि किन यिनीहरू सन्तुष्ट हुन्नन् ? यिनीहरूमा किन यसरी निकोटिनको तलतल जिउँदो भएर जन्मिरहन्छ ? यसरी यौनतृप्त भएपछि पनि।

म त भन्छु, यस्ता स्त्री र पुरुषहरू झनै महाको वेश्या र रण्डो हुन्। किनकि, यिनीहरूमा धोका र विश्वासघातको कालो पर्दा लागेको हुन्छ। तर, वेश्यामा भने इमान्दारीको खुला नीलो आकाश भेटिन्छ। फेरि किन वेश्यामात्रै घृणाको पात्र बनिरहनुपर्ने ? वेश्याहरू शरीरले व्यभिचारी गर्छन्। तर, मनमा व्यभिचार हुँदैन। जसले शरीरले गर्दैन व्यभिचार, तर उसको मनले भने व्यभिचार गरिरहेको हुन्छ। केवल उसको मनको व्यभिचारको तुस भने सधैं बसिरहन्छ।

अब भन्नुस्, ए समाज ! को हो ठूलो व्यभिचारी ? शरीरबाट गर्ने कि मनबाट गर्ने व्याभिचार ठूलो ? अभाव अथवा बाध्यतामा शरीरको व्यापार गर्ने वेश्या कि केवल यौनतृप्त हुनका लागि आफ्नै विश्वासलाई तिलाञ्जली दिने वेश्या ? जसले मनबाट व्यभिचार गरिरहेको हुन्छ। अवश्य नै उसले शरीरबाट व्यभिचार गरेरै छोड्छ, मौका परे। उनीहरू घरको कुखुरालाई शिकार गर्न घर अगाडिको दाउराको कुन्युमा लुकेर बसेको चतुरो स्यालझैं त हुन्।

अब भन्नुस् तपाईहरू नै, को ठूलो वेश्या ? त्यो हिसाबले हेर्ने हो भने त म वेश्यालाई बिलकुलै पवित्र देख्छु। किनकि, उनीहरूमा छलकपट र धोका भन्ने चीजहरू बिलकुलै हुँदैहुँदैन। जस्तो जे छ, त्यो खुल्ला छ। उनीहरू सिसाजस्तै पारदर्शी देखिन्छन्। किनकि, वेश्याहरू भन्न सक्छन् आफूलाई वेश्या हुँ भनेर। वेश्यालयमा, वेश्याहरूलाई आफू कुमारित्व रहेको प्रमाण पेश गरिरहनु पर्दैन। तर, मनका व्यभिचारी पुरुष र स्त्रीहरू भने धोकाको कालो पर्दाभित्र लुकेर यौनको खेल खेलिरहेका हुन्छन्।

व्यभिचारी पुरुष र स्त्रीहरु विश्वासलाई नै विश्वासघातको धारले रेटिरहेका हुन्छन्। आफूलाई समाजको सामुन्ने निर्वस्त्र भएर स्वीकार्न सक्तैनन्। उनीहरू आफ्नो लोग्ने र स्वास्नीलाई सत्य कुरा भनेर पानी परेर छ्याङ् आकाश भएजस्तो छ्याङ्ग हुनै सक्तैनन् उनीहरू। हो, उनीहरु महावेश्या हुन्, महाव्यभिचारी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्