नेपाली टोली हिँड्यो सगरमाथाको उचाइ नाप्न

Team2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २७ चैत । सरकारले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई विदाइ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नापी विभागको टोलीलाई विदाइ गरेका हुन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन् । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा उनीहरुलाई विदाई गरे । विदाई कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागीता थियो ।

नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । यद्यपि नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सगरमाथाको उचाइ मापन गर्ने टोली बुधबारै सगरमाथातर्फ प्रस्थान गर्ने छ । टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्