‘कफी उत्पादनको क्षेत्रमा लगानी बढाऔं’ : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ०३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल चिया तथा कफी विकास बोर्डले आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताए। पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै रहेको तर नेपालको उत्पादन निकै थोरै रहेको प्रसङ्ग उल्लेख गरे।

नेपालमा उत्पादन हुने कफीको गुणस्तर राम्रो रहेकाले पनि विदेशमा निर्यात हुने सम्भावना रहेको औँल्याउँदै प्रचण्डले कफी उत्पादनको क्षेत्रमा लगानी बढाउन, अनुसन्धान, तालीम तथा विस्तारका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए।

सो अवसरमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले वि.सं १९९५ देखि नेपालमा कफीखेती शुरु भएको बताउँदै कफीलाई विश्वबजारमा पुुर्याउन गुल्मीलाई सुपर जोनको रूपमा अघि सारी कम्तीमा पाँच हजार युवालाई निःशर्त र निःशुल्क तालीम दिने कार्य शुरु गरिसकेको बताइन्।

युरोपेली सङ्घका प्रतिनिधिमण्डल प्रतिनिधि जाँ पेट्रेटले भविष्यमा नेपालमा कफी उत्पादनका क्षेत्रमा युरोपेली सङ्घले सहयोग तथा समर्थन गर्ने बताए। कफीको विकासका लागि नेपालले धेरै काम गर्नुपर्नेमा उनले जोड दिए।

इयु फण्डेड ट्रेड एण्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्टका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटीले विश्वमा पानी र चियापछि मानिसले सबैभन्दा बढी पिउने पेयपदार्थ कफी रहेको बताउँदै विश्वमा एक करोड ८५ हजार मेट्रिकटन कफी खपत हुने सम्भावना रहेको बताए।

त्यस्तै चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा हाल ५१३ मेट्रिक टन कफी उत्पादन हुने गरेको र गरीब किसानको महत्वपूर्ण पेशाको रुपमा कफी खेती रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्