प्राविधिक र व्यवहारिक शिक्षामा जान्छौं : प्रचण्ड (भिडियाे)

prachanda-5
लाेकपाटी न्यूज

ललितपुर, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको लागि आधारभुत कुरा शिक्षा भएको बताएका छन्। उनले ललितपुरको सिद्धिपुरस्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो बताएका हुन्।

उनले सरकार समृद्धिको यात्रामा अगाडि बढिरहेका बताउँदै भने, ‘समृद्धिको यात्रामा सबैभन्दा महत्वपूर्ण र आधारभुत कुरा शिक्षा हो, जबसम्म शिक्षामा हाम्रो लगानी बढ्दैन, पूर्वाधारको विकास र गुणस्तरीयता कायम हुन सक्दैन, हामीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि पूरा हुँदैन।’ उनले विगतमा अलि बढी बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली भएको र अब मुलूक संघीयतामा गइसकेको बताउँदै संघीय गणतन्त्रमा शिक्षालाई गुणस्तरीय बनाउँदै उत्पादनसँग जोडेर जाने र शिक्षालाई रोजगार केन्द्रित बनाउने संकल्पका साथ आफूहरु लागि परेको बताए। उनले भने, ‘हामीले निर्वाचनकै बेला पनि भनेका छौं, अब हामी विद्यालय शिक्षालाई प्रविधिमैत्री, विज्ञानमैत्री र जिवनोपयोगी बनाउँछौं। हामीले अहिलेको सैद्धान्तिक शिक्षा र व्यावहारिक शिक्षाबीचको जुन अन्तर छ त्यो अन्तरलाई घटाएर वैज्ञानिक, प्राविधिक र व्यावहारिक शिक्षालाई प्रमोट गर्ने भनेका छौं।’

उनले सरकारले शिक्षाको गुणस्तरलाई बढाउने र सैद्धान्तिक अनुपातलाई कम गर्ने नीति बनाएको बताए। उनले सामुदायिक विद्यालयलाई पनि पूर्वाधारयुक्त र गुणस्तरयुक्त बनाउनुपर्ने भन्दै भने, ‘हामीकहाँ निकै वर्षदेखि सामुदायिक र निजी विद्यालयबीच प्रतिस्पर्धा हुँदै आएको छ। त्यसमा पनि निजीको पूर्वाधार, अनुशासन र शैक्षिक गुणस्तर अलि माथिजस्तो र सामुदायिकको अलि कमजस्तो देखिएको छ। यसकारण हामी सामुदायिकलाई पनि निजी विद्यालयसँग खरो उत्रिने गरी हरेक पक्षबाट विकास गर्ने गरीको प्रयासमा जुटेका छौं।’

उनले पछिल्लो समय सामुदायिक विद्यालयले पनि लय पक्रिन थालेको र केही वर्षभित्र सरकाले जुन किसिमको नीति लिएको छ त्यसको जगमा टेकेर सबै सामुदायिक विद्यालयतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे। उनले देश नयाँ बजेटको तयारीको अवस्थामा रहेको बताउँदै सो विद्यालयमा बन्दै गरेको नयाँ भवन निर्माण र स्कुलसम्म पुग्ने सडक पिच गर्ने काममा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्।

उनले सिद्धिमंगल माध्यमिक विद्यालय धेरै पुरानो भए पनि क्रमश विकासतर्फ लम्किँदै आएको भन्दै विद्यालयलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्ने विद्यालयका प्रधानाध्यापक तथा अध्यापकहरु, व्यवस्थापन समिति, अभिभावक तथा सबै विद्यार्थीहरुलाई धन्यवाद समेत प्रकट गरेका छन्।

श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३ अौं वार्षिकोत्सव । महालक्ष्मी नपा-6, सिध्दिपुर, ललितपुर । २०७६ बैशाख ११ गते बुधवार

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, April 23, 2019

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्