दीगो र आत्मनिर्भर विकासमा लागौं : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् मंसिरदेखि फागुनसम्म भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार मंगलपुरमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महानगर प्रमुख रेनु दाहालले गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छिन्।

भ्रष्टाचार विरुद्धको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख थिए। कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। ४० जनाभन्दा बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो र सुझाव राखेका थिए।

सहभागीहरुको गुनासो तथा सुझावहरूको सम्बोधन गर्दै शहरी विकास तथा भवन विभागका प्रतिनिधि, विद्युत प्राधिकरण, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी लगायतले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र गुणस्तरीय पूर्वाधार निर्माणमा उच्च निगरानी कायम गरिने प्रतिवद्धता ब्यक्त गरेका थिए।

डल्लाकोटीले सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिँदै गुणस्तरीय विकास नै अबको आवश्यकता रहेको बताए। प्रमुख डल्लाकोटीले सम्पूर्ण निकायले योजनावद्ध र दीगो विकासको खाका बनाएर काम गर्नुपर्ने सुझाव दिँदै सुशासन, पारदर्शिता र जवाफदेही हुन सम्पूर्ण निकायलाई आग्रह गरे।

sarbajanik-sunuwai-main

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताइन्। उनले विकास निर्माणका कामहरूको गुणस्तर र समयमा काम नहुने गरेको सम्बन्धी गुनासाहरू बढी आउनु सकारात्मक रहेको बताउँदै महानगरपालिका यसमा अत्यन्तै संवेदनशील रहेको बताइन्।

प्रमुख दाहालले महानगरपालिकाभित्र अन्य साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन निर्देशन समेत दिइन्। उनले कुनै पनि अनियमितता र ढिलासुस्ती सैह्य नहुनेसमेत बताइन्।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरबासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताइन्। यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउँदै सम्पूर्ण निकायसँगको समन्वयमा काम कारबाही अगाडि बढाइरहेको बताए। बस्नेतले समाजमा ब्याप्त विकृति र विसंगति अन्त्यको लागि आम नागरिकको निरन्तर सक्रियता रहनुपर्ने बताए।

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंंह राठौर, नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का कृष्णराज लभ्ली न्यौपाने, नेपाली काँग्रेसका उत्तम जोशी लगायतले बोलेका थिए।