वडाअध्यक्षकै मिलेमतोमा ६ जनाले हडपे एकल महिलाको जग्गा

लाेकपाटी न्यूज
0 Shares

बुटवल, १८ वैशाख। रुपन्देहीमा एक महिलाको जग्गा स्थानीय जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अर्कैले हडपेको छ।

कोटहीमाई गाउँपालिका वडा नं. ४ वयरघाटकी कमलावती पालको ३३ कठ्ठा साढे ८ धुर जमिन सोही वडाका अध्यक्ष ओमप्रकाश पाण्डेय, मालपोत कार्यालय मर्चवारका कर्मचारी र ६ जना भूमाफियाले हडपेका हुन्।

४८ वर्षीया कमलावतीको श्रीमानको मृत्यु भइसकेको छ। सन्तान समेत नभएकी उनको श्रीमानको नाममै जमिन थियो। श्रीमानको नामबाट तपाईंको नाममा जमिन नामसारी गरि दिन्छौं भनेर वडाअध्यक्षकै मिलेमतोमा कमलावतीको घरैमै आएर राजीनामा निवेदनमा हस्ताक्षर गराइ ढाँटेर ७ जनाले मालपोतबाट जमिन आफ्नो नाममा पास गरिसकेका छन्।

बिरामी भएर बोल्न र हिँड्डुल गर्न समेत नसक्ने एकल महिलाको जमिन अर्कैले झुक्याएर नाममा गरेपछि स्थानीय सहयोगमा जुटेका छन्। स्थानीय वीरेन्द्र जैसवालले वडा अध्यक्ष र मालपोतका कर्मचारीको मिलेमतोमा ठगी गरेर सात जनाले आफ्नो नाममा जग्गा नामसारी गरेको बताए।उनले बिरामी र एकल समेत रहेकी कलावतीको न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि विपक्षीहरू उपस्थित नभएको बताए।

जिल्ला प्रशासन कार्यालयले कारबाही प्रकृया अघि नबढाए जनता आफैंले कारबाहीको लागि आन्दोलन गर्ने उनले चेतावनी दिए। स्थानीय हरी प्रसाद बानियाँले कमजोर अवस्थाको महिलालाई ठगी गरेर पैसा नतिरिकन जग्गा ठगी गर्नेलाई कारबाही गरी उक्त जग्गा महिलालाई फिर्ता दिलाउनुपर्ने बताए। मालपोतको तथ्यांकअनुसार वडाअध्यक्ष पाण्डेयले उक्त जग्गामध्ये आफ्नै छोरा राजेश पाण्डेयको नाममा ५ कठ्ठा ११ धुर जमिन पास गराएका छन्। उनले ०७५ चैत १४ गते मालपोतबाट पास गरेका हुन्।

यस्तै, १४ गते नै मायादेवी गाउँपालिका, गरकट्टीका प्रेमकुमार यादवले ५ कठ्ठा ११ धुर आफ्नो नाममा गराएका छन्।
चैत १५ गते कोटहीमाई ३, पर्सियाका सूर्यनाथ अहिरले ५ कठ्ठा १९ धुर आफ्नो नाममा गरेका छन्। उनी मझगाँवा विद्यालयका कर्मचारी समेत हुन्। यस्तै, १५ गते नै वडानम्बर ४ का प्राविधिक कोटहीमाई ४ बरहदवा निवासी रामनाथ यादवले आफ्नी श्रीमती परमिला यादवको नाममा १ कठ्ठा २ धुर जमिन कायम गराएका छन्। उनले स्थानीयको दबाबपछि ०७६ वैशाख १० गते कवलावतिका नाममा जमिन फिर्ता गरिसकेका छन्।

कमलावतिको जमिन भू–माफियाले आफ्नो नाममा गराउने काम यत्तिमै रोकिएन्। यस्तै, ०७५ चैत १७ गते लुम्बिनी सांस्कृतिक नगरपालिका धुपहीका जितबहादुर यादवले ३ कठ्ठा १४ धुर जमिन आफ्नो नाममा गराए।सोही दिन साविक कम्हरिया ७ का विश्वनाथ पालले ५ कठ्ठा १२ धुर जमिन आफ्नो नाममा गराएका छन्। जमिन सबै झुक्याएर अरुले नाममा गरेको थाहा पाएपछि स्थानीयको सहयोगमा कमलावतीले जिल्ला प्रशासनमा ठगी मुद्दा दर्ता गरेकी छन्।

प्रशासनले यसबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले पक्ष विपक्षसँगै मालपोत लेखनदासलाई समेत छलफलको लागि पत्र काटिसकेको बताइन्। जग्गासम्बन्धी मुद्दा देवानी भएकोले जिल्ला प्रशासन कार्यालयले छलफलमा मात्र लैजान सक्ने भन्दै उनले अरु प्रकृयाको लागि अदालत वा छलफलमा जानुपर्ने बताइन्।

एकल महिलाको जमिन भूमाफियासँग मिलेर आफैंले निर्वाचित गरेको जनप्रतिनिधिले हडपेपछि स्थानीय आक्रोसित छन्। सोमबार मात्रै जिल्ला प्रशासनमा दुई सय बढी स्थानीयले आएर ठगी गर्नेलाई कडा कारबाहीको माग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्