शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद

pic yuriya 1
लाेकपाटी न्यूज
0 Shares

कपिलवस्तु, २९ वैशाख। कपिलवस्तुबाट शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ। कपिलपस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो।
चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ।
चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कोलकाता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो।

शनिबार बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। युरिया मल आइतबार कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए।

युरिया मल औद्योगिक प्रयोजनका लागि हो कि कृषि प्रयोजनको हो भन्ने विषयमा यकिन नभएकाले नियन्त्रणमा लिएको प्रजिअ पोखरेलले बताए। किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारीमात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्