हिमाल आरोहणमा गएका ७५ जना सगरमाथाकाे चुचुराेमा, ४ को मृत्यु,

images_cms-image-000071861
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ जेठ । हिमाल आरोहण सुरु भएसँगै देश तथा विदेशका केही आरोही यो वर्षको आरोहण सकेर फर्किएका छन् भने केही उचित मौसमको पर्खाइमा आधार शिविरमा नै रहेका छन्। पर्यटन विभागबाट ३० हिमाल आरोहणका लागि ८ सय ५१ आरोहीले अनुमति लिएका थिए।

सगरमाथा चुचुरोमा ७५ आरोही
३१ वैशाखमा यस सिजनका लागि ‘रोप फिक्सिङ टोली’ चुचुरोमा पुगेसँगै सगरमाथा आरोहण सुरु भएको हो। पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ३ सय ६६ विदेशी र १३ नेपाली गरी जम्मा ३ सय ७९ जनाले आरोहण अनुमति लिएका थिए। आरोहण अनुमति लिएकामध्ये हालसम्म ७५ आरोहीहरु सगरमाथा चुचुरोमा पुगेका छन्। जसमा आरोहीका साथमा शेर्पा गाइड तथा भरियाहरु गरी दोब्बर संख्यामा रहेका छन्।

सगरमाथा आधार शिविरमै रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आधार शिविर सुनसान छ। आरोहीहरु आधार शिविरबाट आरोहणतर्फ लागेका छन्।

विश्वकै अग्लो सगरमाथालगायत अन्य हिमाल आरोहणका क्रममा ४ विदेशी आरोहीको मृत्यु भइसकेको छ भने २ आरोही बेपत्ता छन्। सगरमाथा आरोहणका क्रममा १, मकालु आरोहणका क्रममा १ आरोहीको मृत्यु र १ आरोही बेपत्ता भएका छन्।

सम्पर्कमा नरहेका दुई आरोहीहरुको मृत्यु भइसकेको र उनीहरुको शव समेत भेट्न गाह्रो हुने शेर्पा आरोहीहरु बताउँछन्।

गत जेठ २ गते दिउँसो सगरमाथा आरोहण सकेर फर्किएका भारतीय सैनिक रवि ठाकुरको ८ हजार मिटर उचाइमा मृत्यु भएको थियो। सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका ठाकुरको अक्सिजन अभावका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै सेभेन समिट कम्पनीकै व्यवस्थापनमा संखुवासभामा रहेको ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सिंहको पनि मृत्यु भएको छ।

मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष हराइरहेका छन्। बिहीबार साँझ आरोहण सकेर फर्किने क्रममा उनी हराएका थिए ।

विश्वकै तेस्रो अग्लो हिमालको रुपमा रहेको ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघा हिमाल आरोहणका क्रममा जेठ १ गते राति २ भारतीय नागरिकको मृत्यु भएको छ। आरोहणका लागि काठमाडौंस्थित पिक प्रमोसन प्रालिको व्यवस्थापनमा आरोहणमा गएका पश्चिम बंगाल, कोलकताका ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको मृत्यु भएको हो। कम्पनीले उनीहरूको मृत्युको कारण ‘स्नोब्लाइन्डनेस’ र ‘फ्रस्टबाइट’ अनुमान गरेको छ।

त्यस्तै कञ्चनजंघा हिमाल आरोहण दलमा रहेका दक्षिण अमेरिकी मुलुक चिलीका नागरिक रोड्रिगो भिभ्यान्को हराइरहेका छन्। कञ्चनजंघा हिमाल आरोहणका लागि ३२ विदेशी र २ नेपाली गरी ३४ जनाले आरोहण अनुमति लिएकामा ३४ आरोहीले आरोहण सम्पन्न गरेका छन्।

त्यस्तै मकालु हिमाल आरोहणका लागि अनुमति लिएका ५३ आरोहीमध्ये २९ आरोहीहरुले आरोहण गरेका छन्। ९८ आरोहीले अनुमित लिएको ल्होत्से हिमाल आरोहणका लागि ११ आरोहीले आरोहण पूरा गरेका छन्।