विदेश अध्ययनमा जान १२ पास हुनुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

लाेकपाटी न्यूज

काठमाडाैं, ६ असार । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि कक्षा १२ पास हुनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको छ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलाशले शुक्रबार सरकारको उक्त निर्णय दुवै पक्षको छलफल नभएसम्म कार्यान्वयन नगर्न भनेको हो।

सरकारले विदेश उच्च शिक्षा अध्ययनमा ‘नो अब्जेक्सन लेटर’ (एनओसी) प्राप्त गर्न १२ कक्षा पास भएको हुनुपर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध अधिवक्ता रामदत्त ओझाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

छलफलका लागि सबै पक्षलाई बोलाउँदै सर्वोच्चले अन्तरिम आदेशमार्फत उक्त निर्णय रोक्नुपर्ने वा नपर्ने विषयमा निर्णय हुने भनेको छ। सर्वोच्चले विद्यार्थीलाई एनओसी नदिनुपर्ने कारण सरकारलाई लिखित रुपमा पेस गर्न पनि भनेको छ। सर्वोच्चले अर्को सुनुवाइ आइतबारका लागि तोकेको छ।

सरकारले जेठ २९ गते उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले १२ कक्षा पास गर्नैपर्ने सूचना जारी गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान एनओसी उपलब्ध नगराइने भनेको थियो।

पढाइमा कमजोर विद्यार्थी पनि सहजै विदेश जाने, उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पूँजी बाहिरिने कारण देखाउँदै सरकारले माध्यमिक शिक्षा (१२ कक्षा) सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने जनाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्