द्वन्द्वपीडितका छोराछोरी पढ्ने विद्यालयको गरे मन्त्री पोखरेलले अनुगमन

dang
रासस न्यूज
0 Shares

लमही, ७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन गरेका छन्।

द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको उक्त विद्यालयको उनले शनिबार अनुगमन गरेका हुन्।त्यस अवसरमा उनले शान्ति सम्झौतापछि द्वन्द्वपीडितका छोराछोरीलाई शिक्षा दिन सञ्चालन गरिएका यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गरिने बताए।

“देशभर रहेका यस्ता विद्यालयको मैले अनुगमन गरेको छु”, उनले भने, “द्वन्द्वपीडित विद्यार्थी पढ्ने यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ। यी विद्यालयलाई शान्ति प्रक्रियापछि सञ्चालन हुने क्रममा संस्थागत विद्यालयका रुपमा दर्ता गर्दा यी विद्यालयलाई सामुदायिक विद्यालय सरह सुविधा दिन नसकिएको उनको भनाइ छ। उनले आवासीय रुपमा सञ्चालनमा आएका यस्ता विद्यालयलाई सीमित स्रोत, साधनबाट पनि सञ्चालन गर्नु राम्रो पक्ष भएकाले विद्यालयको स्तरवृद्धिका लागि पहल भइरहेको समेत बताए।

मन्त्री पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधिलाई उत्पादन शक्तिका रुपमा जोड्नुका साथै व्यवहारिक कार्यान्वयनको मार्गमा सरकार अघि बढेकोसमेत जानकारी गराए। उनले अवको शिक्षा प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। “अब कक्षा १२ को पढाइसकेपछि विद्यार्थीले सीप सिक्नुपर्छ”, उनले भने, “अहिले ८० प्रतिशत विद्यार्थीले साधारण शिक्षा र २० प्रतिशतले मात्रै प्राविधिक शिक्षा लिएका छन्, यो अनुपातलाई ठीक उल्टो बनाउनुपर्छ।”

तुलसीपुर उपमहानगरपालिकाका प्रमूख घनश्याम पाण्डेले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए। विद्यालयमा पूर्वाधार अभाव हुँदा पठनपाठनसँगै विद्यार्थीको आवासीय सेवामासमेत समस्या हुने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक धनेश्वर पोखरेलले बताए।

उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले अहिले विद्यालयमा द्वन्द्वपीडितका छात्रछात्रा कक्षा १२ सम्म पढ्ने गरेका छन्। त्यसपछि भने आर्थिक अभाव हुँदा उनीहरु माथिल्लो तहमा पढ्न पाएका छैनन्। त्यसैले उनीहरुको माथिल्लो तहको पढाइ निःशुल्क पठनपाठनका लागि माथिल्लोस्तरको कक्षा सञ्चालन गर्नुपर्ने समेत उनको माग थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्