सरकारी शिक्षालाई समाजवादउन्मुख गराउँछौं : मन्त्री पोखरेल

girirajmani_pokhrel
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्ने बताएका छन्।

शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उनले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताए।

मन्त्री पोखरेलले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सीपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताए।

सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उनले अरु देशको नक्कल गरेर होइन, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गरे।  मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिए।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ‘नेपालमा समाजवादी शिक्षाको अवधारणा, आधार र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको शिक्षा विचौलिया शिक्षा भएकाले यसमा रुपान्तरणको आवश्यकता रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. गङ्गालाल तुलाधार र सांसद बद्री पाण्डेले  उत्पादनमुखी, सिर्जनशील र उद्यमशीलता शिक्षा आजको आवश्यकता भएको बताए। नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले अहिलेको शिक्षाले मुलुकको विकासमा कुनै पनि योगदान गर्ने नभएकाले शिक्षा नीति स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेले संविधानमा समाजवादोन्मुख भने तापनि कस्तो किसिमको समाजवाद र शिक्षामा कस्तो खालको समाजवाद ल्याउने भन्नेमा राजनीतिक दलबीच नै अस्पष्ट रहेको बताए।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले समाजवादको बहस गरे पनि अझै सामन्तवादको चरित्र देखाइरहेकाले समाजवादी शिक्षा ल्याउन अझै समय लाग्ने बताउँदै स्थानीय तहमा सीपलाई उपयोग गर्ने खालको शिक्षा लागू गर्नुपर्ने र त्यही सीपबाट सिकेको शिक्षाले स्थानीय तहमा उत्पादन गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्