आकाशे पानी संकलन र व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ साउन । पानीजन्य विपद् व्यवस्थापन र खानेपानीको संकट टार्न आकाशे पानी संकलन र व्यवस्थापन गर्ने संकल्पसहित राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ।

नेपालमा बर्षाको समयमा उत्पन्न हुने बाढी पहिरो डुवान जस्ता समस्या र हिउँदमा पर्ने खानेपानीको चरम संकटलाई निवारण गर्ने एकमात्र दिगो र भरपर्दो उपाय आकाशे पानीको संकलन र व्यवस्थापन हाे । त्यसैले याे क्षेत्रमा गम्भीरतापूर्वक तत्काल काम थाल्न तीनै तहका सरकारलाई अनुरोध गर्दै काठमाडौंमा “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन सम्पन्न गरिएकाे हाे ।

सम्मेलनले सात बूँदे संकल्प प्रस्ताव पनि पारित गरेको छ । जसमा वर्तमानमा देखिएको खानेपानीको संकट निवारण ,पानीजन्य विपद् न्यूनीकरण तथा परिस्थितिय चक्र (इकोसिस्टम) संरक्षणकाका लागि बर्षातको पानीको संकलन र व्यवस्थापन अपरिहार्य रहेकोले बर्षाको पानी संकलनका प्रयास र कार्यक्रमहरुलाई तीव्रदरमा बढाउनुपर्ने, वर्षातको पानी संकलन र व्यवस्थापनमा भएको नेपालको मौलिक ज्ञान,अभ्यास र परम्परालाई पुनर्जीवित गर्दै त्यसलाई उपयुक्त प्रविधिद्धारा समृद्ध बनाउनु पर्ने, बर्षाको पानी संकलन गरी खानेपानीको व्यवस्थापन सहित बहुउद्देश्यीय उपयोगितामा काम गर्न निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने, बर्षाको पानी संकलन र व्यवस्थापनमा ज्ञान र अनुभव आदानप्रदान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्नुपर्ने, वर्षाको पानी संकलन र उपयोगितामा त्यसको गुुणस्तरमा ध्यान दिनुपर्ने, यससम्बन्धमा भएका नीति नियम र कार्यक्रमहरुको कार्यान्वयन तदारुकतासाथ गरेर आम नागरिकलाई लाभान्वित बनाउन सबल अनुगमन र मूल्यांकन पद्धतिको विकास गर्नुपर्ने, बर्षाको पानीको संकलन र व्यवस्थापनमा काम गर्न स्थानीय निकायलाई अग्रसर गराउनुपर्ने र उनीहरुलाई उपयुक्त प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्नुपर्ने,खानेपानीको उचित व्यवस्थापनमा कोरियाले हासिल गरेको ज्ञान र विकास गरेको प्रविधि नेपालका लागि पनि उपयोगी भएकोले स्मार्ट ग्रीड अवधारणाको अबलम्बनमा ध्यान दिनु पर्ने जस्ता विषयहरु समेटिएका छन् ।

सम्मेलनको समापन समारोहमा बाेल्दै प्रमूख अतिथि खानेपानी मन्त्री बीना मगरले सरकारले खानेपानीको आपूर्तिमा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र संविधानले प्रदत्त गरेको स्वच्छ खानेपानीको अधिकार जनतालाई प्रदान गर्न बर्षातको पानीको संकलन र व्यवस्थापनले निकै सघाउ पुग्ने बताइन् । उनले नेपालका शहरी क्षेत्रको संरचना बर्षातको पानी तर्काउने ढंगले निर्माण गरिएकाले पानी जमीनमा पुनर्भरण हुन नपाएर स्रोतहरु सुक्ने तथा छोटो समय परेको पानीबाट समेत बाढी,पहिरोका समस्या देखिने गरेको बताइन् । पानीकै अभावका कारणले आवश्यक सरसफाईमा ध्यान नपुगेकोले नेपालमा जातीय तथा महिनाबारी हुँदा महिलाहरुलाई समेत पारिवारिक विभेद हुने गरेको बताइन्।

समापन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री गणेश साहले सम्मेलनले बर्षातको पानी संकलन र व्यवस्थापनमा ज्ञानको बृद्धि गराएको बताए । २ दिने सम्मेलनमा ३० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

सम्मेलनमा नगरपालिकाका निर्वाचित प्रमूखहरुको सहभागिताले पानीको संकट भोगेका नगरपालिकाले संकट टार्नका लागि बर्षातको पानी घरघर र समुदायमा उपयोग गर्ने कार्यक्रम तर्जुमा गर्न सघाउने पनि बताए । कार्यक्रममा भएको युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीहरुको सहभागिताले नयाँ पुस्तालाई बर्षातको पानीको संकलन र व्यवस्थापनमा पर्याप्त ज्ञान पुगेको दावी पनि उनले गरे।

समापन समारोहमा स्मार्ट वासका निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत ई. हरिप्रसाद शर्माले सम्मेलनको गतिविधिमाथि प्रकाश पारे । जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनबाट शनिवार समुद्घाटन भएको यस सम्मेलनमा शनिवार र आइतबार एक/एक वटा प्लेनरी सेसन सम्पन्न भएका थिए भने आइतबार ४ वटा समानान्तर सेसन, स्थानीय निकायका प्रतिनिधिहरु सहभागी भएको नगरपालिका विशेष शत्र पनि सञ्चालन भएको थियो । सम्मेलन स्थलमा बर्षाको पानी संकलन र व्यवस्थापनमा कार्यरत विभिन्न संस्था र निजी क्षेत्रले १० वटा प्रदर्शनी कक्ष पनि राखेका थिए ।

सम्मेलनमा खानेपानीको क्षेत्रमा कार्यरत नेपाल सरकारका निकाय,विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु तथा कोरिया, श्रीलंका र बंगलादेशका सहभागीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

मन्त्री बीना मगरले सम्मेलनका अवसरमा भएको पोष्टर प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कृत गर्नुको साथै कार्यपत्र प्रस्तोता,आयोजक र सहयोगी संस्थाहरुलाई प्रमाणपत्र पनि प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्