यी हुन् उत्कृष्ट उच्च शिक्षा दिने विश्वका ९ मुलूक

study abroad
लाेकपाटी न्यूज

काठमाडौं । धेरै विद्यार्थीकाे विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने चाहना हुन्छ । विदेशमा उच्च शिक्षाको स्तर र पूर्वाधार नेपालको भन्दा राम्रो हुने भएकाले नेपाली विद्यार्थीहरु हरेक वर्ष उच्च शिक्षाका लागि विदेश जाने गरेका छन् ।

यी हुन् अन्तर्राष्ट्रिय विद्यार्थीलाई निःशूल्क उच्च शिक्षा दिने मुलूकः

ग्रिसः ग्रिसमा जीविकोपार्जनका लागि हुने खर्च एकदमै थोरै छ । त्यस्तै, त्यहाँका विश्वविद्यालयले स्नातकोत्तरदेखि विद्यावारिधीसम्म विभिन्न कोर्समा अध्यापन गराउँछन् । त्यहाँका अधिकांश कोर्समा अंग्रेजी भाषामा अध्यापन हुने गरेको छ । सोही कारण विदेशी विद्यार्थीलाई अध्ययन गर्न समेत सहज हुन्छ ।

त्यहाँको इतिहास र संस्कृति पनि गौरवशाली छ । प्लेटो, अरस्तुलगायतका दार्शनिकको जन्मस्थान समेत रहेकाे ग्रिसको आधुनिक शिक्षाको स्तर पनि उच्चस्तरीय छ ।

स्पेनः स्पेनमा विदेशी विद्यार्थीका लागि अध्ययन शूल्क न्यून छ । स्पेनका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई उच्चस्तरको शिक्षा उपलब्ध गराउँदै आएका छन् । त्यहाँका विश्वविद्यालयका विभिन्न कोर्समा स्नातकदेखि विद्यावारिधिसम्म अन्यन्त न्यून शुल्कमा अध्यापन हुन्छ ।

शिक्षाको स्तरसँगै स्पेन संस्कृतिमा पनि उत्कृष्ट छ । बार्सिलोनाको विश्वविद्यालय, सेभिलको विश्वविद्यालय र अल्मेरियाको विश्वविद्यालयजस्ता स्पेनका उच्चस्तरीय विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना पनि उच्च हुन्छ ।

फ्रान्सः केही सार्वजनिक विश्वविद्यालयमा बाहेक फ्रान्सको उच्चशिक्षा निःशूल्क छ । अध्ययन शूल्क लाग्ने विश्वविद्यालयमा पनि शूल्क एकदमै थोरै छ ।

विदेशी विद्यार्थीका लागि यहाँको शिक्षा क्षेत्र धेरै नै न्यून शूल्कको छ । त्यो बाहेक फ्रान्स संस्कृति र इतिहासमा पनि धेरै नै सम्पन्न छ । त्यसैले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न फ्रान्स गतिलो गन्तव्य हुनसक्छ ।

चेक गणतन्त्रः चेक गणतन्त्र उच्च शिक्षाका लागि युरोपमा मात्र हाेइन विश्वभर प्रख्यात छ । विदेशी विद्यार्थीका लागि यहाँ अध्ययन शुल्क पनि अत्यन्त न्यून छ । यहाँका अधिकांश कोर्सहरु चेक भाषामा अध्यापन गराइन्छ । तैपनि केही विश्वविद्यालय तथा कलेजहरुले अंग्रेजी भाषामा पनि अध्यापन गराउने गरेका छन् । चिकित्सा, इन्जिनियरिङ, विज्ञानका क्षेत्रमा चेक गणतन्त्रमा उच्च स्तरको शिक्षा प्रदान गरिन्छ ।

फिनल्याण्डः फिनल्याण्डको शिक्षा प्रणाली विश्वभर प्रख्यात छ । शिक्षा प्रणालीको क्षेत्रमा फिनल्याण्डको नाम शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डको उच्च शिक्षा कुनै पनि मुलुकका विद्यार्थीका लागि निःशूल्क रहँदै आएको थियो । यद्यपि सन् २०१७ मा शिक्षा क्षेत्रमा सुधारका क्रममा गैर युरोपेली मुलुकका विद्यार्थीलाई उच्च शिक्षाका लागि एकदमै न्यून शूल्क तोकिएको छ ।

अष्ट्रियाः अष्ट्रियामा एकदमै न्यून शुल्कमा उच्च शिक्षा अध्ययन गर्न सकिन्छ । यहाँको जीविकोपार्जनका लागि गरिने खर्च पनि एकदमै थोरै छ ।

अष्ट्रियाको शिक्षा क्षेत्र अत्यन्त विकसित मानिन्छ भने यहाँका विश्वविद्यालयहरुले सयौं कोर्सहरु उपलब्ध गराउँदै आएका छन् । त्यस्तै, अष्ट्रियाको सँस्कृति पनि उत्तिकै सम्पन्न छ ।

स्विडेनः उच्च शिक्षाको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको स्विडेनमा अध्ययन गर्न जुनसुकै मुलुकका विद्यार्थीलाई निःशूल्क छ । स्विडेनमा विश्वविद्यालयको अध्ययन निःशुल्कमात्र छैन, स्विडिश विश्वविद्यालयका लागि अध्ययन तथा शोध अनुसन्धान गर्नका लागि आर्थिक सहयोग समेत प्राप्त गर्न सकिन्छ । स्विडेनका विभिन्न विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई विशेष छात्रवृत्ती समेत दिने व्यवस्था मिलाएका छन् ।

नर्वेः नर्वेको उच्च शिक्षा पनि पूर्ण रुपमा निःशुल्क छ । यहाँका करदाताहरुले तिरेको पैसाले नर्वेको शिक्षा क्षेत्र सबल बनेको छ । तैपनि नर्वेका अधिकांश विश्वविद्यालयहरुले नर्वेजियन भाषामा अध्यापन गराउने भएका कारण विश्वविद्यालय भर्ना हुनुअघि त्यहाँको भाषामा निपुर्ण हुनुपर्छ ।

जर्मनीः उच्च शिक्षाको क्षेत्रमा अर्को प्रतिष्ठित मुलुकको नाम हो, जर्मनी । जर्मनीका अधिकांश विश्वविद्यायलमा अध्ययन गर्दा कुनै शुल्क लाग्दैन । भर्ना गर्ने बेला र सामान्य प्रशासनका लागि एकदमै न्यून शुल्क उठाइन्छ । त्योबाहेक जर्मनीमा अंग्रेजी भाषामा समेत अध्यापन हुने भएकाले विदेशी विद्यार्थीका लागि जर्मनी आकर्षक गन्तव्य रहँदै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्