हिरासतभित्र कोही पनि असुरक्षित हुँदैन : सर्वेन्द्र खनाल

Sarbendra-khanal
लाेकपाटी न्यूज
0 Shares

चितवन, ६ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने बताएका छन्। रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आकस्मिक रुपमा शुक्रबार चितवन प्रहरी कार्यालयमा पुगेका आईजीपी खनालले प्रहरी कार्यालय तथा हिरासत कक्षको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका थुनुवालाई भेट गरेका थिए। भेटका क्रममा आईजीपी रवि लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने र अनुसन्धानमा सघाउन लामिछानेलाई आग्रह गरेको  नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी उत्तमराज जोशीले जानकारी दिए।

‘प्रहरी हिरासतमा कोही पनि असुरक्षित हुँदैन। कानूनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुन्छ’, खनालले भने, ‘नेपाल प्रहरी कुनै पनि कुरामा आग्रह र पूर्वाग्रह नभएर आफ्नो कतर्व्य पालनामा प्रतिबद्ध छ।’ यसअघि रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए । श्रीमती निकिता पौडेलको फेसबुकमार्फत रविले यस्तो कुरा बताएका थिए ।

माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम जोडिएपछि साउन ३० गते न्युज २४ का रवि लामिछाने, युवराज कँडेल र एक युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई दुई पटक गरेर १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। लामिछानेसहित तीनै जनालाई आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराइदै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्