टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट, को–को परे टीममा ?

cricket_pics
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ असोज। सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन। त्यस्तै युवा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा अटाएका छैनन।

छनोट हुने खेलाडीमा कप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ र सन्दीप लामिछाने छन।त्यसैगरी सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख र रोहितकुमार पौडेल छन।

नेपालले सिङ्गापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बावेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ।नेपालले असोज १० गते जिम्बावेसँग खेल्नेछ भने असोज ११ गते आयोजक सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्नेछ । यही असोज १८ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँच राष्ट्रबीच टी–ट्वान्टी सिरिज हुनेछ। जहाँ नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, हङ्कङ र नेदरल्याण्ड छन।

यसै सिरिजलाई मध्येनजर गरेर नेपालले भारतीय प्रशिक्षक बुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा समेत नियुक्त गरेको छ।

Tags