फेसबुकमा अड्किएको इन्टरनेट र कम्प्युटर शिक्षा

Anil_Pathak
यति सम्भावना हुँदाहुँदै आजको युवा पुस्ता पब्जी, टिकटक र क्षणिक मनोरञ्जनमा अड्किनु कत्तिको जायज हुन्छ ? यसको उपलब्धि के ? हामी जस्तो विकास उन्मुख राष्ट्रको भविष्य भनिने युवाहरु इन्टरनेट, कम्प्युटर र मोबाइलको लतमा परेपछि राष्ट्रले हामीबाट के आशा गर्न सक्छ ?
लाेकपाटी न्यूज

काठमाडाैं। नेपालको शैक्षिक गुणस्तर कागजी रुपमा फड्को मार्दै गए पनि मूल रुपमा चित्त बुझ्दो उपलब्धि हासिल गर्न सकेको छैन । ठीक त्यस्तै इन्टरनेट र कम्प्युटर प्रविधिको उपयोग र यस सम्बन्धि ज्ञान पनि मूल रुपमा उपयोगी र उत्पादक बन्न सकेको छैन ।

२१ औं शताब्दीका युवा युवतिहरु बच्चैदेखि इन्टरनेट प्रविधिसँग खेल्दै हुर्किएका भए पनि यसको सही उपयोग गर्न भने निकै चुकेको देख्न सकिन्छ । अझ यी युवा युवतिहरुमा इन्टरनेट र प्रविधिको लत नराम्रोसँग बसेको छ । आजको समयमा पब्जी खेल्ने, टिकटक बनाउने, फेसबुकमा दिनभरि व्यस्त हुने युवाको जमात निकै ठूलो छ । पब्जीका कारण उनीहरु हिंस्रक भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समेत बताएका छन्।

टिकटकबाट केही प्रयोकर्ताहरु राम्रो अभिनय गरेर आफ्ना विभिन्न प्रतिभा देखाए पनि धेरै जसो प्रयागकर्ताहरुले समय मात्रै बर्बाद गरेको देखिन्छ । त्यसैगरि, कम्प्युटरमा विभिन्न स्पिकर, माउस, किबोर्ड, जोयस्टिक लगायतका कम्पोनेन्ट जोडेर दिनरात गेम खेल्ने जमात पनि नेपालमा ठूलो छ ।

कम्प्युटर र इन्टरनेट प्रविधि विज्ञानको अनुपम उपहार हो । यसको प्रयोगले हाम्रा कामहरु निकै सहज भएका छन् । आज प्रविधिका कारण चन्द्रमामा रकेट पठाउन सकिन्छ, मंगलग्रह पनि नियाल्न सकिन्छ, स्पेस टुरिजम गर्न सकिन्छ, खाना कसरी पकाउने देखि गीत कसरी गाउने, म्युजिक कम्पोज गर्नेदेखि रकेट प्रक्षेपण कसरी हुन्छ भन्ने कुरा हामी आफंै पढ्न, सिक्न र बुझ्न सक्छौं ।

यति सम्भावना हुँदाहुँदै आजको युवा पुस्ता पब्जी, टिकटक र क्षणिक मनोरञ्जनमा अड्किनु कत्तिको जायज हुन्छ ? यसको उपलब्धि के ? हामी जस्तो विकास उन्मुख राष्ट्रको भविष्य भनिने युवाहरु इन्टरनेट, कम्प्युटर र मोबाइलको लतमा परेपछि राष्ट्रले हामीबाट के आशा गर्न सक्छ ? यो वैज्ञानिक युगमा अनेकाैं प्रविधिहरु आविष्कार भइसकेका छन्, जसलाई हामीले उपलब्धिमुलक हिसाबले प्रयोग गरे मात्रै पनि पुग्छ ।

एक रिसर्चका अनुसार अण्डर ग्य्राजुएटहरुमा इन्टरनेटको लत अत्याधिक देखिएको छ । आफ्नो सहजताका लागि प्रयोग गरिने ती प्रविधिहरुको जथाभावी प्रयोगका कारण अब नेपालिहरु यी प्राविधिक लत छुटाउन अस्पताल धाउने दिन धेरै टाढा छैन । पब्जी खेल्ने युवा युवतीमा निकै हिंस्रक हुने, हत्या गर्ने र अपराधिक मानसिकता देखिएपछि छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकमा पब्जी खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि केही समय पब्जी प्रतिबन्धित थियो । त्यस्तै टिकटक पनि विभिन्न मुलुकमा वयस्क सामाग्री भएको भन्दै प्रतिबन्धित छ ।

नेपालमा इन्टरनेट र कम्प्युटर शिक्षा निकै कम मात्रामा पाइन्छ । यसको सानो उदाहरण, एउटा व्यत्ति मोबाइलमा फेसबुक, युटुब मज्जाले चलाउँछ । तर, त्यही व्यत्ति कम्प्युटर अन गरेर फेसबुक, युटुब चलाउन सक्दैन । सायद, तपाईंलाई आउँछ होला तर तपाईकै घरमा यो प्रष्ट देख्न सकिन्छ । मुख्यतः यो विषयमा मूल कारण भनेको कम्प्युटर ज्ञान थोरै पनि नभएका मानिस पर्दछन्। तर, कम्प्युटर ज्ञान भएका मानिस पनि कम्प्युटरमा फेसबुक, युटुब लगायत विभिन्न मनोरञ्जनमा मात्रै व्यस्त देखिन्छ ।

कम्प्युटर प्रविधिको उपयोगी प्रयोग आजको आवश्यकता हो । अनलाइन पेमेन्ट ल्याउने ई–सेवा, खाना डेलिभरी गर्ने फुडमाण्डु, ट्याक्सी बुकिङ सारथी, तपाईंको घरको फोहोर किनिदिने खालिसिसी लगायतका विभिन्न कम्पनिहरु इन्टरनेट र कम्प्युटर प्रविधिको प्रयोग गरेर नेपालमा आफ्नो सेवा दिइरहेका छन् ।

कम्तिमा केही नयाँ सिक्ने, रिर्सच गर्ने, प्रविधिको उच्चतम् उपयोग गर्न खोज्ने बानी हामीमा निकै आवश्यक देखिएको छ । नेपालमा मोबाइल इन्टरनेट त हरेक घरमा पुगेको छ । अन्तर्राष्टिय स्तरमा हेर्ने हो भने नेपालमा इन्टरनेट शूल्क निकै महंगो छ । मोबाइल इन्टरनेट पुगे पनि सामान्य आय स्रोत भएका धेरै नेपालीहरुले इन्टरनेटमा नयाँ कुरा सिक्ने, पढ्ने र हेर्ने अवसर गुमाएका छन्।

सहरी क्षेत्रमा वाइफाइ भए पनि केही प्रतिशतले मात्रै वाइफाइ उपभोग गर्छन्। ती मध्ये पनि केही विद्यार्थी, शिक्षक, व्यवसायी, लेखक, कलाकार, रिर्सचर, इत्यादि उपभोक्ताले मात्रै इन्टरनेट उपलब्धिमुलक कार्यमा प्रयोग गरेको देखिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्