नगर क्षेत्रको सरसफाई गर्नु नगरवासीको सामूहिक दायित्व हो : रेनु दाहाल

sarsafae
लाेकपाटी न्यूज
0 Shares

चितवन, २१ पुस। भरतपुर महानगरपालिकाले सरसफाईलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको छ। भरतपुर महानगरपालिकाले सरसफाई अभियान्ता वे ग्रप, टोल सुधार समिति, जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगको सहकार्यमा राजमार्ग तथा सडकहरूमा सरसफाई कार्यक्रमहरू साप्ताहिक रूपमा हरेक हप्ताको सोमबार अभियानको रूपमा गरिरहेको छ।

सोमबार १९३ औंं शृङखला भरतपुर महानगरपालिका गेटदेखि चौबीसकोठीसम्मको दुइतर्फी सडक किनारहरू सरसफाई गरिएको छ। सरसफाईका क्रममा स्थानीयहरूलाई फोहरमैलाको सही व्यवस्थापन र विसर्जनबारे सचेतना प्रदान गरिने छ भने सडक पेटी तथा आसपासमा गरिएको अव्यवस्थित कार्यलाई रोक्न प्रेरित गर्ने गरिन्छ।

सडक सरसफाईका क्रममा बाटोमा फालिएका फोहोर टिप्दै मेयर रेनु दाहालले नगर क्षेत्रको सरसफाई गर्नु सम्पूर्ण नगरवासीको सामूहिक दायित्व भएको भन्दै यही जागरण नगरवासीमा जगाउन आफू हरेक हप्ता फोहोर टिप्न सडकमा निस्किएको बताइन्। मेयर दाहालले आफ्नो घर पसल वरपर, छरछिमेक र सार्वजनिक स्थानको सरसफाई सबैको सामूहिक प्रयासले मात्र पूरा हुने बताइन्।

भरतपुर महानगरपालिकाले नगरको सरसफाईलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले फोहोर व्यवस्थापनमा सचेत र सजग हुन आग्रह गरिन्। जथाभावी फोहोर फाल्ने, सडकपेटीमा व्यवसाय गर्ने र शहरको सौन्दर्यता बिगार्ने जो कोहीलाई महानगरपालिकाले कारवाही गर्ने बताउँदै उनले नियम उल्लंघन नगर्न आग्रह गरिन्।

साप्ताहिक सरसफाई अभियानमा नियमित सहभागी भई सहयोग गर्ने वे गु्रप, टोलसुधार समितिहरू, जनप्रतिनिधिहरू, महानगरपालिकाका कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबैलाई धन्यवाद दिँदै यस अभियानमा सधैंं सकृय हुन आग्रह। साप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिने बताउँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज जोशीले जथाभावी फोहोरमैला गर्नेलाई कारवाही गरिने बताइन्।

सरसफाई अभियन्ता भोजनारायण कंडेलले १९३ औं शृंखलामा आइपुग्दा महानगरवासी सरसफार्ईप्रतिको सचेतना जागरण गरेको बताउँदै यस अभियानमा वे ग्रुपको सधैँ सकृय सहभागिता रहने बताइन्। बिहान ७ बजे भरतपुर महानगर गेटबाट सुरू भएको सरसफाई तथा सचेतना साप्ताहिक कार्यक्रममा ३ सयभन्दा बढी सरसफाई अभियन्ताहरूको सहभागिता रहेको थियो । भरतपुर महानगरपालिकाले साप्ताहिक रूपमा प्रत्येक हप्ताको सोमबार सरसफाई अभियन्ताहरूसँगको सहकार्यमा सरसफाई तथा सचेतना कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्