‘बन्दीपुर केवलकार निर्माणमा एसबीआई र एनएमबि बैंकको साथ’

लोकपाटी न्यूज
0 Shares

तनहुँ। देशकै ऐतिहासिक पर्यटकीय गन्तव्य बन्दीपुर पाहाडकि रानी उपमाले समेत प्रख्यात छ। जहाँ भिन्न सोचसहित बन्न लागेको बन्दीपुर केवलकार र टुरिजम परियोजनाको आज एक कार्यक्रमकाबीच आर्थिक व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरिएको छ।

उक्त कार्यक्रममा औपचारिक रूपमा कम्पनी र बैंकहरुबीच कागजात पत्रमा सही छाप गरी फाइनान्सियल क्लोजर भएको घोषणा गरिएको छ। जस अनुसार बैंकिङ्ग पार्टनरको रूपमा नेपाल एसबीआई बैंकको लिडमा एनएमबि बैंकसहितले एक अर्कासँग सह बित्तियकरण गरेका थिए।

फाइनान्सियल क्लोजर अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजमको लागत १ अर्व ६६ करोड ८९ लाख रुपियाँ रहेकोमा स्वपूँजी/कर्जा अनुपात ३९.६१ रहेको छ। आगामी असोज मसान्तभित्र पहिलो चरणको कमर्सियल अप्रेशन गर्ने गरी जम्मा ७० करोड रुपियाँ व्यवस्थापन गरिएको छ। जस अन्तर्गत केवलकार, रेस्ट्रो जोन र रिक्रियशनहरु बेबसायिक रूपमा खुल्ला हुनेछन्। कर्जा विभाजन अनुरूप ७२.८५ प्रतिशत नेपाल एसबीआई बैंक र २७.१४ प्रतिशत एनएमबि बैंकले कर्जा प्रबाहा गर्ने गरी सम्झौता भएको छ।

त्यसैगरि दोस्रो चरणको होटेल सहितको पूर्वाधारको कमर्सीयल अप्रेशन ल्याउने गरी निर्माण गर्नको लागि नेपाल एसबीआई बैंक र एनएमबि बैंकको सहबित्तियकरणमा थप ३५ करोडको कर्जाको सुनिश्चिततासहित क्लोजिंग गरिएको छ। जस अनुरूप भने एनएमबि बैंकको ३१.४३ प्रतिशत लगानी रहनेछ। साथ साथै स्वपूँजी व्यवस्थापनको लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन र टुरिजम इन्भेस्टमेन्ट फण्डको ६१प्रतिशत पन्चासे केवलकार एण्ड टुर्सका २५ प्रतिशत बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहने कुरा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।

उनका अनुसार आर्थिक व्यवस्थापनका लागि कम्पनीले प्रस्ट र योजनाबद्ध बुनेको रोड म्यापको समेत सफल कार्यान्वयन भएको दाबी गरेको छ। साथसाथै यसले आगामी १० वर्षभित्र बन्दीपुर अवधारणा देशव्यापी रूपमा स्थापित भइसक्ने र १० हजार माथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वकान्क्षि म्याप समेत प्रस्तुत गरेका थिए। नेपाल एसबीआई बैंकको तर्फबाट सो म्यापको लक्ष्य पुरा गर्न बन्दीपुर परियोजनासँग जोडिएका स्थानीय शेयर धनीहरूलाई थप व्यवसायीक रूपमा प्रवर्धन गर्न ३ प्रतिशत ब्याज दर निर्धारण गरी २० करोड बराबरको सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने घोषणा समेत गरिएको छ।

यस कर्जाको लागि बन्दीपुर केवल कारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको ग्यारेन्टी गर्ने बत्ताइसकेको छ। अध्यक्षका अनुसार ग्रामीण अर्थतन्त्रको संवर्धन नगरेसम्म देशको आर्थिक बागडोर दीर्घकालीन हुँदैन भन्ने बुझेर समुदाय सँगसँगै काम गर्ने सोच राखेको प्रस्ट पारे। कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष राम चन्द्र शर्माले गरेका थिए। कम्पनीका कार्यकारी चिन्तामणि शर्माले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्ण सिङ्ग थापा थिए।

प्रमुख अतिथिको अध्यक्ष पूर्ण सिङ्ग थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तव्य बनाउनको लागि परियोजनाले निर्णायक भूमिका खेल्ने सुनिश्चित भएको बताए। उनले बन्दीपुरको साभार चर्चा गर्दै परियोजना सँग पूरक रहेर निरन्तर कार्य गर्ने र जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो परियोजना साउथ एसियामा नै भिन्न थिम सहित निर्माण हुने बताइएको छ। केवलकारबाट सिधै चार तारे होटेलमा प्रवेश पाइनेछ। जहाँबाट सूर्योदय, हुवाइट सी, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बंगला, भ्यु रुम, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठाको होटेल लगायत रिक्रियशनका पूर्वाधार त्यहाँ रहनेछन्।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर सो समेत लगाउने तयारी छ। जसले दशौं हजार पर्यटक बन्दीपुरमा लैजाने रणनीतिक योजना बुनेको कम्पनीको दाबी रहेको छ। निकट महिनामा नै बटम स्टेशनमा सुविधा सम्पन्न रेस्ट्रो जोनको कमर्सियल अप्रेसन गरी टुरिस्ट कोर्टको रूपमा वार्म अप बिजनेश गर्ने घोषणा समेत कम्पनीले गरेको छ। जहाँ ५०० गाडी एकै पटक पार्किङ गर्न सकिने सुविधा रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्